नेतृत्व वर्गले सबैभन्दा बढी कुरा गर्ने विषय भनेको विकास हो । उन्नत किसिमको सुधार बिस्तार तथा सकारात्मक परिवर्तन नै विकास हो । विकासका जतिसुकै रट लगाएपनि तल लेखिएका विकास वा समृद्धिलाई खाने कीराबाट उन्मुक्ति प्राप्त गर्न सकिएन भने विकास भन्ने कुरा केवल ‘आकाशको फल आँखा तरी मर...’ भने जस्तो मात्र हुन पुग्छ ।
१. कानून परिपालनको अभाव— विकास वा समृद्धिको मूल जरो खाने कीरो यही हो । कानूनको सर्वोच्चता विकास र समृद्धिको मूल ढोका हो । यसले नै नागरिकमा समभावको सिर्जना गर्छ । समतामुलक समाजको सिर्जना गर्ने मुख्य जग पनि यही हो । उच्च ओहोदाका व्यक्तिले वा भनौं नेतृत्व वर्गले कानून हातमा लिएर आफ्नो मनमाफिक गर्ने र समाजका कमजोर हैसियतका सर्वसाधारणलाई कानून परिपालनाका नाममा अनेक झमेला टन्टा लगाउने गर्दा सर्वसाधारणमा नेतृत्वप्रतिको श्रद्धा हराउँदै जान्छ । यसले गर्दा सामाजिक एकता भाईचारा सर्वनाश मात्रै हुँदैन कि जति कानून मिच्न सक्यो, उति उच्च हैसियतको भइने सोंचको विकास भई समाजमा अराजकता बढ्दै जान्छ । ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने लोककथन यस्तै परिस्थितिको प्रतिविम्बन हो । यस्तो परिवेशले विकास विरोधी प्रवृत्तिलाई प्रश्रय दिन्छ । त्यसैले नेतृत्व वर्गले कानूनका आँखामा सबै बराबरी भन्ने संस्कार स्थापित गर्न प्रयत्नरत हुनु पर्छ ।
२.नातावाद र कृपावाद— यो नेतृत्वको गुभो खाएर थोत्रो बनाउने गबारो हो । नातावाद र कृपावादका गबाराले खाएर नैतिक उचाइ खात्खुत्तै घटेका व्यक्तिहरूका नाम टिपोट गर्ने हो भने ठूलै लगत खडा हुन्छ । त्यसको सबैभन्दा सजिलो उदाहरण २०७४ सालका समानुपातिकमा चुनिने सांसदहरूको नामावली नातावादको हस्को ठस्स आएको धेरैले महशूस गरे । राम्रो व्यक्तिभन्दा हाम्रो व्यक्तिको चयन गर्ने प्रवृत्तिले कि त सङ्गठन तहसनहस भएको कि त आफू नै स्वाहा भएका तमाम उदाहरण पाइन्छन् । जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेले श्रीमतीलाई राष्ट्रपति बनाउने धुनमा लाग्दा आफ्नो लामो इतिहास कलङ्कित भएको चर्चा नयाँ नै छ । यसबाट नेतृत्व वर्ग बच्न सकेन भने उसको जस्तोसुकै त्याग, तपस्या, लगाव, मेहनत... सबै यसैगरी माटोमा मिल्न जान्छ । यसै सन्दर्भमा दार्शनिक रूपचन्द्र विष्टसितको एक स्मरणीय घटना छ । एक दिन सांसद रूपचन्द्रका भतिजाले आफूलाई विदेश पढ्ने छात्रवृत्तिका लागि सिफारिश पत्र लेखिदिन भनेछन् । तब रूपचन्द्रले सिफारिश पत्र यसरी लेखिदिएछन्— ‘श्री .... कार्यालय । पत्र बाहक मेरा भतिजा हुन् । उनी... देशमा छात्रवृत्तिमा जान चाहन्छन् । सोका लागि मेरा भतिजा योग्य भए यिनलाई र यिनीभन्दा योग्य अरू कोही भए उनैलाई पठाउनका लागि सिफारिश गर्छु ।’ कस्तो दार्शनिक बोली । कोही कसैलाई नकारात्मक कुरा नबोली आफ्नै मान्छेलाई हटाउनसमेत सिफारिश गरी आफ्नो आदर्श कायम गर्न सक्ने क्षमता !
३. झूठको खेती— कुनै सत्यतथ्य कुरालाई बङ्ग्याउने, तोडमरोड गर्ने, भाँजो हाल्ने काम भयो भने यहाँ राजनीति भयो भन्ने प्रचलन भइसकेको छ । कोही कसैको भवितव्यमा ज्यान गयो भने पनि यो पक्षले मारेको, ऊ पक्षले हत्या गरेको भनी समाजमा झमेला सिर्जना गर्नुलाई ‘लासको राजनीति’ भन्ने गरिन्छ । यस्तै–यस्तै कुराले गर्दा राजनीति सर्वसाधारणमाझ डुङ्डुङ्ती गह्नाउँने गरेको छ । त्यसैले राजनीतिलाई फोहरी खेल पनि भन्ने गरिन्छ । यस्तै विकृति देखेर, भोगेर हास्यव्यङ्ग्यकार भैरब अर्यालले ‘महापुरुषको सङ्गत’ शीर्षकको निबन्धमा यसो भनेका छन्—
चोरीचकारी नगरे चतु¥याइँ हुन्न । दङ्गाफसाद नगरे इज्जतै रहन्न ।
सोझा र सज्जन कवै नलिनू दलैमा । पार्टी चलाउनू सधैं छल औ बलैमा ।।
यस व्यङ्ग्य श्लोकले पनि राजनीतिमा झूठको खेती निकै मौलाउने कुराको सङ्केत गर्छ । एउटा झूठलाई सत्य सावित गर्न खोज्दा सयवटा थप झूठ बोल्नु पर्छ । यसले गर्दा व्यक्तिको व्यक्तित्व त गिर्छ नै, झूठ वक्ताको सोंच र समझमा पनि नकारात्मक पाटो बढ्दै जान्छ । यस्तो हुँदै जाँदा व्यक्ति समाजबाट बाहेक हुने, क्रूर, हिंस्रक, निष्ठूर र अपराधी बन्ने अवस्था आउँछ । यो नकारात्मक प्रवृत्ति निजका शाखा सन्तान र छरछिमेकमा पनि सर्दै जान्छ । कुनै निश्चित स्थान विशेषका बासिन्दा फटाहा, जाली, अपराधी, चोर, डाँका... हुन्छन् भन्ने भनाइको पृष्ठभूमि यिनै क्रियाकलापले सिर्जना गरेका हुन् । त्यसैले आजको विश्वव्यापीकरणको जमानाका नेतृत्व वर्ग पुरानै खोलेटोले सोंचमा नरुमलिई उदार, सत्यवादी हुनुपर्छ भन्ने यो नीति वचनले निर्देश गर्नसक्छ ।
अयं बन्धु रयं नति कलंना लघुचेतसाम् । उदार चरितानन्तु वसुधैव कुटुम्बकम् ।
(यो मेरो ऊ तेरो भन्ने कुरा सङ्कीर्ण सोंचवालाको भनाइ हो । जो उदार सच्चरित्रवाला छ, उसका लागि पृथ्वीका सबैमा समान भाईचारा रहन्छ, हुन्छ । ) यसो भयो भने विकासको लहर चारैतिर फैलिन्छ ।
४. राजनीतिक अनिच्छा— कसैको धेरै आलोचना गरिन्छ भने त्यसमा केही दम छ भन्ने बुझ्नुपर्छ । संसारमा सबैभन्दा आलोचना हुने विषयवस्तु केही छ भने त्यो राजनीति हो । सबै नीतिहरूको मियो हो राजनीति, हातो हो राजनीति । त्यसैले राजनीति बिग्रियो भने अरू सपार्छु भनेर पनि सपार्न सकिँदैन । राजनीति सपार्न राजनेताको इच्छा शक्तिको प्रमुख भूमिका हुन्छ । राजनेता जब इच्छा शक्तिहीन र तदर्थवादी बन्छ, तब विकासले गति लिन सक्तैन । राजनीतिक अनिच्छा भनेको देश विकास तथा उन्नतिको मसानघाट हो, चिहान हो ।
५. शोषण— शोषक— शोषित, पीडक—पीडित... जस्ता कुराहरू राजनीतिका कखरा सिक्दैखेरि कण्ठ हुने कुरा हुन् । शोषणका विभिन्न रूप हुन्छन् । आर्थिक शोषण, सामाजिक शोषण, धार्मिक शोषण, बौद्धिक शोषण, सोझो सरल तरिकाले शोषण हुँदैन । यसका लागि अनेकखालका फट्याइँका तानावाना बुन्ने कुटिल मानसिकताले नै शोषकको परिपञ्च सिर्जना गर्छ । कतिपय अवस्थामा शोषकका भ्रमजालका कारणले शोषितले म शोषणमा छु भन्ने कुरा थाहा पाउन सकेको हुँदैन भने कतिपय अवस्थामा म शोषणमा छु भन्ने कुरा थाहा भएपनि उसका परिवेशजन्य वाध्यताले शोषणविरुद्ध बोल्ने अवस्थामा हुँदैन । ‘भनुँ भने गाउँका मुख्खे, नभनँु भने कुखुरा सकिए’ भन्ने उखान यस्तै परिवेशलाई प्रतिविम्बन गर्न सिर्जिएका हुन् । जसरी ऐंजेरुले स्वस्थ रूखलाई स्वाहा पार्छ, जसरी उपियाँ परेको खसीलाई जतिसुकै दानापानी दिएपनि सप्रिन्न शोषक राजनेता भएका देशको विकास एक दिवा स्वप्ना मात्र हुन्छ । देश कहिल्यै उँभो लाग्दैन । शोषणले देश विकासमा जुकाको हैसियतले अबरोध गर्छ ।
६. ढिलासुस्ती— ढिलासुस्तीलाई देश विकासको फाल्सन पनि भन्दछन् । जसरी अगाडिका दुई खुट्टालाई छोटो डोरी (फाल्सन)ले बाँधिदिएपछि कस्तै पानीदार घोडा पनि उसको वेगमा कुद्न सक्तैन, त्यसरी नै जुनसुकै काममा पनि ढिलासुस्ती गर्ने जुम्सो प्रवृत्तिले विकासलाई गतिहीन बनाइदिन्छ । समय र ग्राहकले कसैलाई पर्खन्न । विकासका लागि पनि यी कुरा सम्झन योग्य छन् । चलाख नेतृत्वले समयलाई उछिन्ने योजना बनाउन सक्छ । समयलाई लगाम लगाउन सक्छ । एक कामदारको एक दिनमा श्रम गर्ने समय भनेको आठ घण्टा हो । यदि कुनै कामलाई चौबीसै घण्टा निरन्तरता दिन उस्तै दक्षता र क्षमता भएका तीन टोली कामदारको व्यवस्था गरियो भने तीन दिनमा हुने काम पहिलो दिनमै हुन्छ । तीन वर्षमा हुने काम पहिलो वर्षमै हुन्छ । जापान, दक्षिण कोरिया, चीनका विकासका चुली छिटोछिटो चुलिने रहस्यमा यस्तै व्यवस्थापकीय राज लुकेको छ । हामी भानुभक्तीय भोलि, भैरब अर्यालको ‘जय भोलि’मा रमाइरहेका छौं । अल्छ्याइँ र जुम्सोपनले कहिल्यै उन्नति प्रगति हुँदैन भनी ‘सुदिनले सुत्न दिन्न, कुदिनले उठ्न दिन्न’ भन्ने लोककथन बनेका छन् । कवि जगन्नाथ गुरागाईँको चर्चित कृति गुणरत्नमालाको एक श्लोक—
अल्छ्याइँ नलिनू उँघी नरहनू निद्रा नधेरै लिनू । क्वैदेखि नडराउनू रिस कतै कैल्यै नउठ्ने हुनू ।।
धन्दा झट्पट छिन्नू फूर्ति रहनू जुम्सोपना छाड्दिनू । विद्यामा धनमा पूरा हुनुपरे यो बानी हर्दम् लिनू ।।
नेतृत्व वर्गले भोलिवादी प्रवृत्तिको जरो उखेल्न सकेन भने देश वा समाजको विकास धागो काटिएको चङ्गा जस्तो अलपत्र हुन्छ ।
७. दास मनोवृत्ति— अपनत्वको अभाव नै दास मनोवृत्ति हो । झट्ट सुन्दा कोही कसैले बाध्य बनाएर दासत्वको शुरुवात हुने जस्तो देखिएपनि खासमा जब व्यक्तिमा म केही गर्न सक्छु भन्ने भावना नामेट हुन्छ तब दास प्रवृत्तिको उदय हुन्छ । जब अपनत्वको अभाव हुन्छ, तब कामको गुणस्तर र गति निकै कमजोर हुन्छ । ‘मर्छन् त बराजुका गोरु, भाँचिन्छ त साधनको हलो’ भन्ने उखानले विकासका लागि जुटाइएको श्रम र स्रोत कसरी ध्वस्त हुन्छ भन्ने कुरा देखाएको छ । कामको मूल्याङ्कन, राम्रो कामलाई प्रोत्साहन पुरस्कार जस्ता कुराले यस प्रवृत्तिलाई केही कम गर्न सकिन्छ । यसैगरी, विकास निर्माणका काममा लगानी र यसको उपादेयताका बारेमा सर्वसाधारणसित अन्तक्र्रिया गर्ने अवसर जुटाउने गरेमा दास मनोवृत्तिलाई हटाउन सकिन्छ । कुनै उत्पादनमुलक संस्थामा कामदारलाई सेयरमा सहभागी गराउनु, कामदारलाई दास मनोवृत्तिबाट मुक्त पार्ने एक राम्रो उपाय हो । यसले कुनै पनि कामको उत्पादकत्व बढ्छ र विकासले गति लिन्छ ।
८. अनुत्तरदायित्व— अनुत्तरदायी प्रवृत्तिलाई विकासको धमिराको रूपमा चिनिन्छ । कुनै पनि कामको जिम्मेवारी प्राप्त भएपछि त्यो काम कति समय र कति लागतमा सम्पन्न हुन्छ भन्ने कुराको पनि किटानी भएको हुन्छ । जिम्मेवारीले उत्तरदायित्वको माग गर्छ । उत्तरदायित्वबिनाको जिम्मेवारीले कुनै पनि कामको सम्पन्नता र प्रभावकारिता खोज्ने अवस्था पनि सिर्जना गर्दैन । जापानको विकासको राजलाई सामुहिक जिम्मेवारी र व्यक्तिगत उत्तरदायित्व भन्ने गरिन्छ । यसका लागि नैतिक सम्वेदनशीलताको खाँचो पर्छ । यसमा अर्काको कमी–कमजोरीलाई आफूले स्वीकार्ने फराकिलो छातीको आवश्यकता एकातिर देखिन्छ भने मेरो कमजोरीलाई उसले आफ्नो भनेर स्वीका¥यो भनेर नैतिक रूपले नतमस्तक हुन सक्ने नैतिक सम्वेदनशीलता पनि हुनु पर्छ । यो जिम्मेवारी समूहको परम आत्मबोधको अवस्था हो । हामी आफ्नै कमजोरीमा पनि दोषादोष गर्छौं । हाम्रो व्यवहारमा जिम्मेवारी हस्तान्तरण हुनसक्ने तर उत्तरदायित्व हस्तान्तरण हुन नसक्ने भनिन्छ । यसले गर्दा नेतृत्वलाई आफ्नो जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयास गर्न घचघचाइरहन्छ । यसले स्रोत र समयको सीमामा काम सम्पन्न गर्न सघाउँछ । त्यसैले नै अनुत्तरदायी जिम्मेवारीलाई विकासको धमिरा भनिएको हो ।
९. वितरण प्रणालीमा भेदभाव— विकास भनेको सेवा सुविधा र उत्पादन आम नागरिले बिना भेदभाव प्राप्त गर्न पाउने अवस्था पनि हो । खाद्य संप्रभूता तथा कुनै उत्पादनका लागि स्थानीयहरूले गर्नुपरेको त्याग वा बेहोर्नुपरेको जोखिमका कारण तोकिएका क्षेत्रका बासिन्दाले थप सुविधा पाउनसक्ने विधिविधानले सकारात्मक विभेदको व्यवस्थालाई भने वितरणमा भेदभाव भएको भन्न मिल्दैन । यसबाहेक लैङ्गिक विभेद, क्षेत्रीय विभेद गरी सेवा सुविधाको वितरण हुने अवस्था आएमा त्यसले राष्ट्रमा ठूलो द्वन्द्व निम्त्याउन सक्छ । द्वन्द्वको आगोमा विकासको रोटी कहिल्यै पाक्दैन ।
१०. अपारदर्शीता— अपारदर्शितामा सधैं षड्यन्त्रको छाँया लुकिरहेको हुन्छ । भनिन्छ, लुकाएर ल्याएको नुनलाई पनि सुनको शङ्का गरिन्छ भने खुला रूपमा ल्याएको सुन पनि नुन होला भन्ठानिन्छ । दुईजना बसेर सामान्य कुरामा कानेखुशी गर्दा अनेक शङ्काउपशङ्का गरिन्छ भने त्यही कुरा समूहमा गरेमा कुनै आशङ्का उब्जने स्थिति आउँदैन । ‘शङ्काले लङ्का जलाउँछ’ भन्ने उखान यही अपारदर्शी अवस्थाले सिर्जना भएको हो । मनमा जे छ मुखमा त्यहीँ र मुखमा जे छ मनमा त्यहीँ भयो भने अपारदर्शी अवस्थाबाट मुक्त भइन्छ । नेतृत्वमा अपारदर्शी भावना देखियो भने सामुदायिक वा भनौं साङ्गठनिक एकतामा खलल पर्छ र विकासका बाटाहरू धूमिल हुँदै जान्छन् ।
११. माथिको मुख ताक्ने प्रवृत्ति— यो दास मनोवृत्तिको झण्डै अर्को रूप हो । यसलाई अङ्ग्रेजीमा त्चष्अपभि मयधल बउउचयबअज पनि भनिन्छ । आफूलाई कमजोर ठान्ने मनोवृत्ति र आफ्नो अधिकारलाई उपयुक्त किसिमले उपयोग गर्न नसक्नेले सधंैभरी अर्काले के आदेश देला र गरुँला भनी बस्छ । आफ्नो कार्य विवरण (त्भचmक या चभाभचभलअभ) मा स्पष्ट नभएको व्यक्तिले सधैं माथिबाट के आदेश आउँछ भन्ने पर्खिरहन्छ । यस्तो मनस्थितिले न नेतृत्वको विकास हुन्छ न त समाजको नै ।
१२. भ्रष्टाचार— भ्रष्टाचारको सोझो अर्थ खराब बानी बेहोर भन्ने हुन्छ । तर हामी सर्वसाधारणले बुझ्ने गरेको कुरा भने आर्थिक अपचलन हो । समाजमा भएका आर्थिक अपचलनका सन्दर्भमा भ्रष्टाचारको कुरा आउने गरेकाले यसको अलिकति अर्थविस्तार (बानी, बेहोराबाट आर्थिक अपचलनतिर), अलिकति अर्थ संकुचन (सम्पूर्ण व्यवहारिक तथा नैतिक क्षेत्रबाट आर्थिकतिर मात्रै खुम्चिएको) र अलिकति अर्थान्तर (सामाजिक तथा नैतिक क्षेत्रलाई छाडेर आर्थिक मात्रै बुझ्ने सन्दर्भ आएको ) भएको जस्तो देखिन्छ । वास्तवमा, प्राकृतिक सत्य र रीत सत्यभन्दा बाहिर गएर गरिने व्यवहार नै भ्रष्टाचार हो । विभिन्न सामाजिक रीतिथितिलाई संरक्षण र संबद्र्धन गर्दै समाजमा विभिन्न काम गर्नुपर्ने हुन्छ । यी रीतिथितिलाई आफ्नो निजी स्वार्थमा प्रयोग गरेर विभिन्न स्रोत साधनको दुरुपयोग भयो भने त्यसले समाजको विकास तथा उन्नतिमा नकारात्मक असर पार्छ । त्यसैले, भ्रष्टाचारलाई समाजको कलङ्क भन्ने गरिन्छ ।
यी विकासका एक दर्जन कीराबाट जोगिन सक्ने नेताको नेतृत्व कालजयी हुन्छ । महात्मा गान्धी, नेल्सन मण्डेला यी कीराबाट जोगिएका नेता हुन् । त्यसैले, उनीहरूलाई उनका देशका नागरिकले मात्रै होइन, विश्वका नागरिकले सम्झने गर्छन्, आदर गर्छन्, सम्मान गर्छन् । लौ नेताजी, विकास खाने कीरो बन्ने कि विकास गर्ने हिरो बन्ने तपार्इँका आफ्नै हातमा छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें