रविवार, 29 जुलाई 2018

कुशल व्यवस्थापन र नेतृत्व

नेतृत्वविना समग्र संगठनको उद्देश्य हासिल गर्न विभिन्न कार्यहरु, विभिन्न तहगत लक्ष्यहरु र विभिन्न व्यक्तिगत लक्ष्यबीच समन्वय ल्याउन सकिँदैन । त्यसैले संस्थालाई सही मार्गतर्फ डो¥याउन पनि नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । नेतृत्व प्रभावकारी हुन जरुरी छ । यदि नेतृत्व गतिहीन तथा अक्षम भयो भने संस्थालाई मार्गदर्शन दिन सक्दैन । नेतृत्व लिने व्यक्तिमा अरुलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो¥याउन सक्ने विशिष्ट खुबी हुन जरुरी छ । त्यसैले व्यवस्थापक एक कुशल नेता हुनु अनिवार्य छ । ‘नेतृत्व’ शब्दलाई स्पष्ट रुपमा सजिलै परिभाषित गर्न सकिँदैन । यो अनुयायीहरुलाई प्रोत्साहित गर्ने, स्वेच्छाले कार्य गर्ने, विश्वास जगाउने तथा निष्ठावान बनाउने गुण हो । नेतृत्वलाई सञ्चारद्वारा अपेक्षित लक्ष्यहरु हासिल गर्न अन्य व्यक्तिहरुको (अनुयायीहरुका) क्रियाकलापहरुलाई प्रभावित गर्ने क्षमताको रुपमा परिभाषित गर्न सकिन्छ । यसले अनुयायीहरुमा लक्ष्य प्राप्तिका लागि मनैदेखि इच्छा जगाउँछ । यस परिभाषाले कोही पनि व्यक्ति (अनुयायीहरुको अभावमा नेता बन्न सक्दैन भन्ने संकेत गर्दछ । नेतृत्वको प्रमुख उद्देश्य नै महत्वपूर्ण लक्ष्य हासिल गर्न प्रभावित गर्नु हो । त्यसैले नेतृत्वको मार नै प्रभाव पार्नु हो । यो व्यक्तिगत, सामूहिक तथा संगठनात्मक लक्ष्यहरु हासिल गर्न व्यवस्थापकमा हुनुपर्ने महत्वपूर्ण तथा अत्यावश्यक सीप हो । कुञ्ज र वाइरिचका शब्दहरुमा —“नेतृत्व भनेको प्रभाव हो, जुन सामूहिक लक्ष्य प्राप्तिका लागि मानिसहरुमा इच्छा जगाउने वा उत्साहित हुने गरी प्रभावित पार्ने कला वा प्रक्रिया हो ।” नेतृत्व हरेक व्यवस्थापकले सम्पादन गर्नुपर्ने कार्य हो । व्यवस्थापकको आफ्ना मातहतका कर्मचारीहरुलाई अगुवाइ गर्ने गुणलाई नेतृत्व भनिन्छ । यो गुण सबै व्यक्तिमा हुँदैन । जुन व्यक्तिमा नेतृत्वको गुण हुन्छ उसले आफ्ना साथीहरु र मातहतका व्यक्तिहरुलाई कुशलतासाथ प्रोत्साहित गर्दछ, उनीहरुमा विश्वास जगाउँछ तथा आफू एवं संस्थाप्रति निष्ठावान् बनाउँछ । 

नेतृत्व भन्नाले सामूहिक उद्देश्य प्राप्तिको लागि परिस्थितिअनुसार अनुयायीहरुलाई प्रभावित गर्न सक्ने क्षमता वा गुणलाई जनाउँछ । व्यवस्थापकले मातहतका कर्मचारीहरुमा आत्मविश्वास र काम गर्ने भावना जगाउन सक्नुपर्दछ । उसले सङ्गठनात्मक लक्ष्यतर्फ मानिसको प्रयास लगाउन निर्देशित गर्दछ, उत्प्रेरित उत्साहित गर्दछ । एउटा नेता व्यवस्थापक हुन वा नहुन पनि सक्तछ तर व्यवस्थापक नेता हुनैपर्दछ । अर्को शब्दमा, व्यवस्थापक आफ्ना मातहतका कर्मचारीहरु वा समूहलाई उत्साहित एवं नेतृत्व गर्नमा सक्षम हुनुपर्दछ । नेतृत्व व्यवस्थापनको अत्यन्तै महत्वपूर्ण कार्य हो । कुशल नेतृत्वविना संगठनको व्यवस्थापन अपूरो र अधूरो हुन्छ । नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरुलाई उत्साहपूर्वक कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । संगठनमा नेतृत्व भन्नाले संगठनात्मक लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू अधिनस्थ कामदार तथा कर्मचारीलाई निर्देशन दिने तथा उनीहरुलाई प्रभावित पार्ने कार्य भन्ने बुझिन्छ । नेतृत्वसँगै नेता र अनुयायीको सुरुवात हुन्छ । नेता भन्नाले संगठनमा अधिकार प्राप्त व्यक्ति हो । जसले नीति–नियमअनुसार निर्देशन दिने अधिकार प्राप्त गरेको हुन्छ । अनुयायी भन्नाले नेताले दिएको निर्देशनअनुरुप कार्य गर्ने व्यक्ति हुन् । यसरी संगठनहरुमा व्यवस्थापक र कर्मचारीबीचमा नेता र अनुयायीका सम्बन्ध रहेको हुन्छ । नेतृत्व एक महत्वपूर्ण व्यवस्थापकीय कार्य हो । कुशल तथा प्रभावकारी नेतृत्वको अभावमा संगठनात्मक उद्देश्य प्राप्त गर्न सम्भव हुँदैन । कुशल नेतृत्वविनाको संगठन मियोबिनाको दाइँसरह हुन्छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्दछ । त्यसैले भनिन्छ संगठनात्मक लक्ष्य हासिल गर्नको लागि संस्थालाई नेतृत्व दिने व्यवस्थापक असल नेतामा हुनुपर्ने गुणयुक्त हुनुपर्दछ । यसप्रकार नेतृत्व नेताद्वारा अनुयायीहरुलाई प्रभाव पार्ने एक कला हो । संगठनात्मक लक्ष्यप्राप्तिका लागि नेतृत्वको अहम् भूमिका हुन्छ । कुनै पनि संगठन सफल र सुचारुरुपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता र नैतिकता र मिलनसार व्यवहार हुनु जरुरी हुन्छ । 

अनुयायीहरु नभईकन कोही पनि व्यक्ति नेता बन्न सक्तैन । एक नेताले अनुयायीहरुबाट अख्तियार प्राप्त गर्दछ, जसले उसलाई नेताको रुपमा स्वीकार्दछन् । त्यसैले अनुयायीविना नेतृत्वको कल्पना पनि गर्न सकिँदैन । नेतृत्वमा नेता, अनुयायीहरु र परिस्थितिको घनिष्ठ सम्बन्ध हुन्छ । अनुयायीहरुविनाको नेतृत्व हुन सक्तैन । असल नेताले समूहका सदस्यहरुलाई प्रभावित गर्ने, उनीहरुको विश्वास जित्ने, अनुयायीहरुको व्यवहार, सोचाइ र विश्वासमा प्रभाव पार्न सक्नुपर्दछ । अनुयायीहरुले नेताको इच्छा बुझ्ने र उसको सुझाव, पथप्रदर्शन स्वीकार गर्ने हुनुपर्दछ । नेतृत्व भनेको अनुयायीहरुको व्यवहार तथा प्रयासहरुलाई प्रभाव पार्ने क्षमता हो । जब कर्मचारीहरुले निर्देशनहरुलाई उत्साहपूर्वक स्वेच्छाले पालना गर्दछन् भने उनीहरुलाई निर्देशन दिने व्यक्तिले प्रभाव पारेको मान्न सकिन्छ । जी.आर.टेरीका शब्दहरुमा —“साझा उद्देश्यहरु स्वेच्छापूर्वक हासिल गर्न मानिसहरुलाई प्रभाव पार्ने क्रियाकलाप नै नेतृत्व हो ।” नेता र अनुयायीहरुका एउटै वा साझा उद्देश्यहरु हुनुपर्दछ । नेतृत्वद्वारा साझा उद्देश्यहरु हासिल गर्न अनुयायीहरुको व्यवहारलाई मार्गदर्शन तथा निर्देशित गर्दछ । यसको लागि नेताले अनुयायीहरुलाई एकत्रित गरी उत्प्रेरित गर्दछ । नेतृत्वको अर्को विशेषता हो नेता र अनुयायीहरुको एउटै वा समान उद्देश्य हुनु । सामूहिक उद्देश्य प्राप्तिको लागि नेताले नेतृत्व गर्दछ भने अनुयायीहरु पछि लाग्दछन् । तर मूलभूत उद्देश्य स्पष्ट रुपले परिभाषित गरिएको हुनुपर्दछ । 

नेतृत्वअन्तर्गत नेता र अनुयायीहरुबीच अख्तियारको असमान वितरण हुन्छ । नेताले अनुयायीहरुलाई निर्देशन गर्दछ भने अनुयायीहरुले नेताको निर्देशनको पालना गर्दछन् । तर अनुयायीहरुले नेताको क्रियाकलापलाई निर्देशित गर्न सक्तैन । नेतृत्व एक निरन्तर चलिरहने प्रक्रिया हो जसमा नेता र अनुयायीहरुबीच नियमित सञ्चार आवश्यक हुन्छ । नेतृत्व भनेको निर्धारित लक्ष्यहरु हासिल गर्न अनुयायीहरुलाई निरन्तर रुपमा निर्देशित गर्ने, मार्गदर्शन गर्ने र प्रभाव पार्ने प्रक्रिया हो । नेतृत्व सदैव खास परिस्थितिसँग सम्बन्धित हुन्छ । कुनै विशिष्ट नेतृत्व शैली कुनै परिस्थितिमा सफल हुन्छ भने अर्को परिस्थितिमा असफल पनि हुन सक्तछ । त्यसैले नेताले परिस्थिति अनुकूल उपयुक्त नेतृत्व अपनाउनुपर्दछ । विभिन्न परिस्थितिमा अनुयायीहरुले नेताको तानाशाही व्यवहार पनि स्वीकार गर्दछन् भने अर्को परिस्थितिमा सहभागिता नेतृत्व शैली मात्रै प्रभावकारी हुन सक्तछ । नेतृत्वको अर्को विशेषता हो कार्य सम्बन्ध स्पष्ट हुनु । नेता र अनुयायीहरुले सङ्गठनमा गर्नुपर्ने काम र त्यसको सम्बन्ध स्पष्ट हुनुपर्दछ । उनीहरुको एउटै उद्देश्य हुनाले सो हासिल गर्नको लागि नेता र अनुयायीहरु–बीचको कार्यगत सम्बन्ध निश्चित गर्नुपर्दछ । नेताले आफ्नो कार्यसम्पादन गर्नुको साथै अनुयायीहरुलाई सुम्पेको कार्य गर्नमा उनीहरुलाई उत्साहित र आकर्षित गर्दछ । समूहबाट नेतृत्व लिनको लागि नेताको आचरण, व्यवहार, योग्यता उदाहरणीय हुनुपर्दछ । आफ्ना अनुयायीहरुबाट विश्वास प्राप्त गर्न उसले अनुकरणीय आचरण, विशेष क्षमता र दक्षताको प्रदर्शन गर्न सक्नुपर्दछ । उसको आचरणबाट अनुयायीहरुले सिक्ने, प्रोत्साहित हुने र प्रभावित हुने स्थितिको सिर्जना हुन सकोस् । 

नेतामा आफूलाई प्राप्त अधिकार तथा शक्ति प्रयोग गर्ने क्षमता हुनुपर्दछ । अधिकार तथा शक्ति प्रयोग गर्न नसक्ने व्यक्तिले मातहतका कर्मचारीहरुलाई नेतृत्व प्रदान गर्न सक्तैन । मानिसको आवश्यकता, चाहना, भावना तथा व्यवहार फरक–फरक हुन्छ । तर पनि नेतामा कर्मचारीको त्यस्तो मनोवैज्ञानिक पक्ष पनि बुझ्न सक्ने क्षमता हुनुपर्दछ । आफ्ना अनुयायीको लोकप्रिय बन्न सक्नु पनि नेतामा हुनुपर्ने महत्वपूर्ण गुण हो । सच्चा, इमानदार, निष्ठावान, लगनशील भई अनुयायीहरुलाई उत्साहित गर्न सक्नुपर्दछ । अनिमात्र कर्मचारीबाट पूर्ण क्षमतामा काम लिन सकिन्छ । नेता योग्य तथा क्षमतावान् हुनुपर्दछ । परिवर्तित परिस्थितिअनुसार सफलतापूर्वक काम गर्न सक्ने भएमा मात्र नेताले सफल नेतृत्व दिन सक्दछ । नेता काममा विश्वास राख्ने हुनुपर्दछ । संस्थाको उद्देश्य प्राप्तिका लागि कर्मचारीहरुलाई परिचालन गर्नमा नेतृत्वको भूमिका सर्वोपरि हुन्छ । सबै व्यक्ति तथा व्यवस्थापकमा नेतृत्व क्षमता समान रहँदैन । कुनै व्यक्ति आफ्नो कार्यमा सफल हुन्छ भने कतिपय व्यक्तिहरु लक्ष्य प्राप्तिमा असफल हुन्छन् । कुशल व्यवस्थापक हुनका लागि उसमा नेतृत्व क्षमता हुनुपर्दछ । नेतृत्व क्षमताका लागि व्यवस्थापकमा केही मूलभूत गुणहरु हुनुपर्दछ । मानव व्यवस्थापनमा नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । शक्तिको प्रयोग नगरीकन आफ्ना अनुयायीहरुबाट अपेक्षित कार्यहरु गराउने क्षमता नै नेतृत्व हो । 

एक कुशल नेतामा आकर्षक व्यक्तित्व तथा प्रसन्न मुद्रा हुनुपर्दछ । ऊ मानसिक तथा शारीरिक दृष्टिले स्वस्थ एवं सुदृढ हुनुपर्दछ । उसमा शान्त स्वभाव, बोल्ने क्षमता र उचित व्यवहार गर्ने क्षमता हुनुपर्दछ । साथै उसमा कडा परिश्रम गर्ने जाँगर तथा फूर्ति हुनुपर्दछ । एउटा कुशल नेतामा अगुवाइ र पहल गर्ने क्षमता हुनुपर्दछ । व्यवसायको वातावरणमा अत्यधिक अनिश्चितता तथा जटिल हुनाले नेताले निर्णयहरु शीघ्र गर्नुपर्ने हुन्छ । त्यसैले कुशल नेतामा शान्तपूर्वक समस्याहरुको सामना गर्न आत्मविश्वास, कल्पनाशक्ति, सृजनात्मक क्षमता र साहस हुनुपर्दछ । एउटा कुशल नेताको स्वभाव सन्तुलित हुनुपर्दछ । यसका लागि नेताले आवेग, अस्थिरता र निराशाजस्ता संवेगहरु त्यागी सहिष्णुताको विकास गर्नुपर्दछ । समस्याको सामना गर्नुपर्दा जहिले पनि ऊ उत्साही र प्रसन्न रहनुपर्दछ । कुनै पनि नेता सफल नेता बन्नको लागि उसको स्वभाव लचकदार हुनुपर्दछ । आवश्यकतानुसार अरुका विचारलाई स्वीकारेर आफ्नो विचारलाई परित्याग गर्न पनि तयार हुनुपर्दछ । हरेक क्षेत्र द्रुतगतिमा परिवर्तन भइरहेको अहिलेको परिस्थितिमा लोचदार नीति अपनाउनु महत्वपूर्ण मानिन्छ । एउटा कुशल नेतामा जिम्मेवारीको भावना हुनुपर्दछ । आफूले गरेका सम्पूर्ण निर्णयहरुको जिम्मेवारी आफैंले बहन गर्नुपर्दछ । साथै आफ्ना अनुयायीहरुले गरेका क्रियाकलापहरुको जिम्मेवारी पनि बहन गर्नुपर्दछ । सहायकहरुले उसलाई विश्वास गर्न ऊ विश्वासिलो हुनुपर्दछ । कुशल नेता विश्वासिलो हुनुपर्दछ, जोसँग सहायकहरु भर पर्न सकून् । उसले परिणामका लागि उत्तरदायित्व बहन गर्न तत्पर रहनुपर्दछ । नेता चरित्रवान् हुनुपर्दछ । नेताको सच्चरित्रले अनुयायीहरुको सामु अनुकरणीय उदाहरण प्रस्तुत गर्न सक्नु पर्दछ । उसको आचरण र व्यवहार स्वच्छ हुनुपर्दछ । उसको क्रियाकलाप र मनोवृत्ति नैतिक रुपमा समर्थनीय हुनुपर्दछ । यसका साथै ऊ इमानदार तथा शिष्ट हुनुपर्दछ । यसले अनुयायीहरुमा आत्मविश्वास सृजना गर्दछ । नेता एक्लैले संगठनात्मक क्रियाकलाप सञ्चालन गर्न सक्दैन । उसले अनुयायीमार्फत विभिन्न क्रियाकलापहरु सम्पादन गराउनुपर्ने हुनाले नेता अनुयायीहरुसँग निकट हुनुपर्छ । अनुयायीहरुको विचार, भावना, सोच र दृष्टिकोणलाई बुझ्नसकेमा मात्र नेता सफल बन्न सक्छ । नेतामा व्यक्तिगत लक्ष्य र स्वार्थलाई त्यागेर संगठन र संगठनात्मक लक्ष्यप्रति आफूलाई समर्पित गर्ने गुण हुनुपर्छ । उसले व्यक्तिगत र अनौपचारिक क्रियाकलापभन्दा सामूहिक र अनौपचारिक कार्यहरुमा केन्द्रित हुनुपर्छ । नेता सामूहिक हितका लागि समर्पित भएमा निश्चय नै उसले अधीनस्थ कर्मचारीलाई पनि संगठनप्रति समर्पित गराउन सक्छ । 

एउटा नेता संगठनात्मक लक्ष्यहरुको निर्धारणजस्तो सृजनात्मक कार्य गर्न सहभागी हुन्छ । साथै आफ्ना अनुयायीहरुको लागि लक्ष्य तथा नीति निर्माण पनि गर्दछ । अनुयायीहरुको लक्ष्य तथा नीति विश्लेषण गर्ने कार्यमा उसले मार्गदर्शन गर्दछ । नेताले विभिन्न सिर्जनात्मक कार्यहरु —योजना तथा नीतिहरु बनाउने, लक्ष्यहरुको निर्धारण अवगत गराउने, पथप्रदर्शकको रुपमा पनि नेताले कार्य गर्दछ । नेतृत्व प्रदान गर्ने व्यवस्थापकको प्रमुख कार्य संगठनात्मक लक्ष्य निर्धारण गर्नु हो । लक्ष्य निर्धारण गर्दा नेताले आफूमा निहित अनुभव, दक्षता र बौद्धिक क्षमताको प्रयोग गर्नुपर्छ । लक्ष्यले संगठनलाई मार्गदर्शन गर्ने हुनाले पनि लक्ष्य निर्धारणमा विशेष सजगता अपनाउनुपर्छ । लक्ष्य निर्धारण गर्दा व्यवस्थापकले आफू मातहतका व्यवस्थापक र कर्मचारीहरुको राय, सुझाव र सल्लाह लिनु उपयुक्त हुन्छ । एउटा कुशल नेताले संगठनका क्रियाकलापहरु सुनिश्चित गरी कर्मचारीहरुमा क्रमबद्ध तरिकाबाट विभाजन गर्दछ । नेताले उनीहरुबीचको सम्बन्धलाई स्पष्ट पार्दछ, जसले गर्दा उनीहरुबीच हुन सक्ने द्वन्द्वलाई कमी गर्दछ । नेताले व्यक्तिगत लक्ष्यहरुलाई संगठनका लक्ष्यहरुसँग एकीकृत गर्दछ, जसले सामूहिक हित सृजना गर्दछ । उसले समूहका कार्यहरुबारे राम्रो जानकारी राखी सामूहिक प्रयासहरुलाई समन्वय गर्दछ । त्यसैले नेताले संगठनका विभिन्न विभागहरुको निगरानी गर्दै तिनीहरुका क्रियाकलापहरुबीच समन्वय गर्दछ । विभिन्न क्रियाकलापहरुको बीचमा समन्वय गर्नु पनि व्यवस्थापक वा नेताको कार्य हो । संगठनमा विभिन्न तह, विभाग र एकाइहरु हुन्छन् । प्रत्येक तह, विभाग र एकाइको सम्बन्ध अर्को तह, विभाग र एकाइसँग हुन्छ । त्यसैले विभिन्न क्रियाकलापहरु बीच समन्वय हुनु जरुरी हुन्छ । यदि क्रियाकलापको बीचमा समन्वय नभएमा संगठनात्मक लक्ष्यप्राप्ति हुँदैन । त्यसैले नेताले विभिन्न क्रियाकलापमा समन्वय ल्याउनुपर्छ । एउटा नेता आफ्नो समूहको प्रतिनिधि हो । नेताले बाह्य व्यक्तिहरु वा व्यवस्थापनसमक्ष समूहको प्रतिनिधिको रुपमा कार्य गर्दछ । समूहको हित हुने जुनसुकै कुरामा उसले पहल गर्दछ । साथै उसले अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु पूर्ति गर्दछ । नेताको अर्को महत्वपूर्ण कार्यसंगठनको प्रतिनिधित्व गर्नु हो । नेता अथवा व्यवस्थापक संगठनको सबैभन्दा बढी अख्तियार प्राप्त व्यक्ति भएको कारणले पनि व्यक्तिगत स्वार्थलाई त्यागी संस्थागत हितका लागि कार्य गर्नुपर्छ । व्यवस्थापकले विभिन्न संगठन र निकायसँग कार्य गर्दा नेताले आफ्नो संगठनको प्रतिनिधित्व गरेको हुनुपर्छ । नेताले आफ्नो समूहको प्रतिनिधित्व गर्दछ । उसले समूहको हित हुने सबै विषयहरुमा विशेष पहलकदमी लिन्छ । उसले आफ्ना अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु परिपूर्ति गर्नमा प्रयास गर्दछ । एउटा कुशल नेतामा संगठनका क्रियाकलापहरुसम्बन्धी प्राविधिक ज्ञान तथा सीप हुनुपर्दछ । नेताले संगठनका लक्ष्यहरु हासिल गर्न अनुयायीहरुलाई मार्गदर्शन गर्दछ । सहायकहरुसमक्ष समस्या आइपर्दा सरसल्लाह दिन नेता सदैव तत्पर हुनुपर्दछ । 

एक कुशल नेताले राम्ररी कार्यसम्पादन गर्न हौसला प्रदान गर्दछ । कर्मचारीहरुबाट अपेक्षित कार्य गराउन उनीहरुलाई उत्प्रेरित गर्नु आवश्यक हुन्छ । नेताले आर्थिक तथा गैरआर्थिक पुरस्कार दिई कर्मचारीहरुलाई उत्प्रेरित गर्दछ । नेताको रुपमा व्यवस्थापकले योग्य कामदारहरुलाई पुरस्कारको रुपमा हौसला दिन तथा बढुवा गर्न सक्तछ । कर्मचारीहरुको मनोबल उच्च पार्न कुशल नेतृत्व एक अत्यावश्यक तत्व हो । कुशल नेताले समूहको सोचाइ र मनोवृत्तिलाई आफ्नो अनुकूल गर्दछ । उसले असल मानवीय सम्बन्ध विकास गरी समूहका सदस्यहरुबीच अन्तक्र्रिया गर्न सुविधा पु¥याउँदछ । उसले अनुयायीहरुबीच स्वैच्छिक सहयोगात्मक र अनुशासित वातावरण कायम गर्दछ । कर्मचारीहरुलाई परिवर्तनको आवश्यकताबारे विश्वस्त पार्ने संयन्त्र नेतृत्व हो । संगठनात्मक परिवर्तनको प्रमुख तत्व नै गतिशील नेतृत्व हो । एक कुशल नेताले कर्मचारीहरुबाट हुन सक्ने परिवर्तनप्रतिको अवरोध समाधान गरी परिवर्तनप्रति सकारात्मक भावना सृजना गर्दछ । व्यावसायिक संगठनहरुमा कडा प्रतिस्पर्धाका कारण निर्णयहरु तुरुन्तै गर्नुपर्छ । निर्णय लिन ढिलो भएमा आफूले पाउने अवसर अन्य प्रतिस्पर्धीले प्राप्त गर्न सक्छन् । तर निर्णय गर्न क्रममा व्यवस्थापकले भूत, वर्तमान र भविष्यलाई राम्रोसँग विश्लेषण गरी विवेकपूर्ण निर्णय लिएका हुनुपर्छ । कार्यसम्पादनका लागि कर्मचारीहरुलाई निर्देशन दिनु पनि नेताको महत्वपूर्ण कार्य हो । संगठनात्मक लक्ष्य प्राप्तिका लागि व्यवस्थापकले अधीनस्थ कर्मचारीहरुलाई कार्य निर्देशन दिनुपर्छ । निर्देशन दिँदा एउटा कार्यका लागि एउटा व्यक्तिलाई एउटै मात्र व्यवस्थापकले दिनु उपयुक्त हुन्छ । नेता एक्लैले संगठनका सम्पूर्ण कार्यहरु गर्न सक्दैन । तसर्थ उसले आफ्नो मातहतमा रहेका कर्मचारीहरुलाई कार्यसम्पादनका लागि अख्तियारी प्रदान गर्छ । तर अख्तियार प्रदान गरेपछि पनि संगठनका सम्पूर्ण कार्यहरुको उत्तरदायित्व भने बहन गर्नुपर्छ । एउटा योग्य नेताले या त आफैंले सङ्गठनात्मक संरचना तयार गर्दछ या वैदेशिक ढङ्गले सङ्गठन ढाँचा बनाउनमा सहयोग गर्दछ । यसबाट उच्च व्यवस्थापनका नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्नमा सङ्गठनका विभिन्न अङ्गहरु संवेदनशील हुन्छन् । नेताले व्यक्तिगत लक्ष्यलाई सङ्गठनात्मक लक्ष्यसँग उचित तालमेल मिलाउँछ, जसबाट सामूहिक हितको सिर्जना हुन्छ । उसले समूहका कार्यहरुको बारेमा राम्रो जानकारी राख्दछ तथा सामूहिक प्रयासहरुको समन्वय गर्नको लागि विचार–विमर्श, छलफल गर्दछ । त्यसैले, सङ्गठनमा लक्ष्यहरु र कार्यहरुको समन्वय गर्नमा नेतृत्व ज्यादै महत्वपूर्ण हुन्छ । कर्मचारी कामदारलाई उचित निर्देशन दिने कार्य गर्दछ ।
गम्भीर बहादुर हाडा ,

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें