रविवार, 29 जुलाई 2018

व्यक्तित्व के हो ?

व्यक्तित्व के हो ?

कुनै पनि व्यक्तिको सार्वजनिक पहिचान नै उसको निजी व्यक्तित्व हो । व्यक्तिलाई उसको परिवार, समाज, तथा राष्ट्रले चिन्ने, वुझ्ने तथा उसका वारे अनुमान लगाउने आधार नै व्यक्तित्व हो । व्यक्तित्वले मानिसको  शैली, चरित्र, व्यवहार, दृष्टिकोण कस्तो छ भन्ने झल्काउँछ  । हाम्रो व्यक्तित्व दुई किसिमवाट वन्छ :

१. वंंशाणुगत
२. वातावरण  

अमेरिकाको मिनेसोटा विश्वविद्यालयमा भएको एक अनुसन्धान अनुसार मानिसको व्यक्तित्वमा ४० प्रतिशत वंंशाणुगत र ६० प्रतिशत वातावरणीय भूमिका हुन्छ । अर्थात्, मानिसको व्यक्तित्व निर्माणमा वंशानुगत प्रभाव ४० प्रतिशत र वातावरणीय प्रभाव ६० प्रतिशत हुन्छ । 

वंशाणुगत भन्नाले मानिसको शारिरिक वनावट, रक्त समूह, जीन, डि एन ए ईत्यादिको प्रभाव हो । वातावरणीय प्रभावमा व्यक्ति हुर्किएको परिवेश र परिस्थिति, कस्तो परिस्थितिमा हुर्काउने , कस्तो र कसरी शिक्षित गराउने आदि पर्दछ । त्यसैले वंशाणु जस्तो सुकै भए पनि चाहेको जस्तो शिक्षा दिएर, त्यस्तै अभ्यास तथा अनुभव गराएर र त्यस्तै वातावरणमा हुर्काएर चाहेको परिणाम ल्याउन सकिन्छ । यसरी विकास गराउँदै लैजाने प्रकृयालाई नै व्यक्तित्व विकास भनिन्छ ।  

व्यक्तित्वका दुई पक्ष हुन्छन् जस्तै,
१. वाह्य व्यक्तित्व 
२. आन्तरीक व्यक्तित्व 
वाह्य व्यक्तित्व भन्नाले मानिसको व्यक्तिगत व्यवहार, अभिव्यक्ति, शैली, चरित्र, प्रस्तुतीकरण, पहिरन, शारीरिक वनावट, आँखा तथा शारिरिक हाउभाउ, आत्मविश्वाश, आवाज इत्यादि हुन् । आन्तरीक व्यक्तित्वमा मानिसको व्यक्तिगत स्वभाव, दृष्टिकोण, सोंच, विश्वाश, भाव आवेशहरु, मूल्य र मान्यताहरु आदि पर्दछन् । आन्तरिक व्यक्तित्वले प्रत्यक्ष रुपमा हाम्रो वाह्य व्यक्तित्वमा प्रभाव पारेको हुन्छ । उदाहरणका लागि कसैले जतिसुकै राम्रो पहिरन, जति मीठा शवदहरुको प्रयोग गरे पनि उसलाई हेर्ने हाम्रो दृष्टिकोण नकारात्मक छ भने हाम्रो अभिव्यक्ति तथा व्यवहारमा नकारात्मक भाव झल्कन थाल्छ जसको परिणाम स्वरुप अरुले हामीलाई हेर्ने दृष्टिकोणमा नै वदलाव आउँछ । 
त्यसैले आन्तरीक व्यक्तित्व त्यस्तो क्षमता हो जसले जस्तोसुकै परिस्थितिमा पनि विचलित नभइ अरु व्यक्ति अथवा परिस्थितिलाई हेर्ने, स्वीकार गर्ने र त्यसमा स्थिर भइरहन सक्ने वनाउँछ । 
व्यक्तित्व विकास किन आवश्यक छ ?
जीवनमा सफलताका लागि व्यक्तित्व विकास किन आवश्यक छ ? यो कुरा वुझाउन यो कथा हेरौं, 
कुनै एउटा चर्चित अस्पतालमा एकजना वरिष्ठ सर्जन डाक्टर थिए । डिग्री, अध्ययन, अनुभव र योग्यताका दृष्टिले उनी त्यहाँ भएका डाक्टरहरु मध्ये सवै भन्दा सिनियर र योग्य थिए । 
एउटा संस्थाले प्रेरणादायी व्यक्तिको वारेमा अनुसन्धान गरिरहेको रहेछ । सो संस्थाले ती डाक्टरवारे पनि अनुसन्धान गर्न थालेछ । प्रेरणादायी व्यक्तिको अनुसन्धान गर्ने क्रममा सो संस्थाले प्रश्नोत्तर विधि अपनाएछ । विरामी, विरामी कुरुवा, सहकर्मी डाक्टर र नर्सहरु तथा अस्पताल व्यवस्थापनसँग प्रश्न गरियो । 
विभिन्न प्रश्नमध्ये एउटा प्रश्न थियो, यी डाक्टर तपाईंलाई कस्तो लाग्छ ? 
विरामी र कुरुवाहरुले यो अस्पतालमा अर्को डाक्टर भइदिएको भए हामी उसैलाई जचाउँथ्यौं भन्ने उत्तर दिए । 
सहकर्मी डाक्टर र नर्सहरुले काम सिकेपछि अर्को अस्पतालमा जानेछौं भने । 
अस्पताल व्यवस्थापनले हामी उनको ठाउँमा अरु दुईजना डाक्टर तयार पार्दैछौं, तयार हुनासाथ यी डाक्टरलाई विदा दिन्छौं भन्ने जवाफ दियो । 
प्रेरणादायी भनिएका ती डाक्टरका वारेमा सवैको उत्तर अकल्पनीय थियो । प्रेरणादायी व्यक्तित्व खोज्ने संस्था अचम्ममा परेछ । किन सवैले यी डाक्टरलाई मन पराएनन् भनी अर्को खोज गर्दा ती डाक्टर पेसागत रुपमा योग्य भए पनि अरु दुई क्षेत्रमा सफल देखिएनन् । नेतृत्व विकास र व्यक्तित्वमा कमी देखियो । 
ती डाक्टरसँग ठूलो अहंकार थियो । अस्पतालमा आउने विरामीहरु मेरै  हुन्, यो अस्पताल मेरै कारणले चलिरहेको छ भन्ने मानसिकता उनको थियो । त्यसैले उनको व्यवहार कसैले मन पराउँदैनथ्यो । यो कथावाट यो स्पष्ट हुन्छ कि वाह्य व्यक्तित्वलाई आन्तरिक व्यक्तित्वले (नकारात्मक भावहरुले ) प्रत्यक्ष रुपमा असर पार्दछ  । आन्तरिक व्यक्तित्वको कारणले ती जस्ता डाक्टर पनि असफल डाक्टरको रुपमा परिचित हुन पुग्दछन् । त्यसैले जीवनमा सफल हुने हो भने व्यक्तित्वको दुवै पक्षको सन्तुलित विकास हुन आवश्यक छ ।
व्यक्तित्व विकासका फाइदा
१. वातावरण तथा अरु व्यक्तिहरुमा प्रभाव
२. आत्मविश्वासमा वृद्धि 
३. मानिसहरुसँग सजिलै घुलमील 
४. भावावेशहरुको उचित व्यवस्थापन 
५.आकर्षक शारिरिक स्वरुप ईत्यादी पक्षमा विकास गर्नका लागि  व्यक्तित्व विकास गर्न आवश्यक छ ।
व्यक्तित्व विकास कसरी गर्ने ?
व्यक्तित्व विकास गर्न सर्वप्रथम हाम्रो व्यक्तित्वको पहिचान गर्नु आवश्यक हुन्छ । मानव व्यक्तित्व अध्यन गर्ने विज्ञ तथा लेखकहरुले मानव व्यक्तित्वका विभिन्न प्रकार पहिचान गरेका छन् । ती मध्ये प्रो. पिटर योर्स वेण्डरका अनुसार मानिसका व्यक्तित्व निम्न प्रकारका छन् । 
१. मिलनसार स्वभाव भएका व्यक्तित्व 
२. आफूलाई अभिव्यक्त गर्ने स्वभावका व्यक्तित्व 
३. विश्लेषक स्वभावका व्यक्तित्व 
४. चालक स्वभाव भएका व्यक्तित्व 
मिलनसार
मिलनसार व्यक्तित्वका मानिसको स्वभाव अत्यन्त सहयोगी, धैर्यवान, इमानदार, र कुटनितीक हुन्छ । यस्तो स्वभावका व्यक्ति अरुका कुरा प्रति छिटो विश्वास गर्छन् । यिनीहरुसँग अन्तरवैयक्तिक सीप अत्याधिक हुन्छ । कुनै काम थाल्नु अघि किन गर्ने भन्ने प्रश्नमा आफूलाई मन्थन गर्छन् ।  यिनीहरु कुनै पनि सम्बन्धलाई जीवीत राख्न सवैसँग नम्र व्यवहार गर्छन् । अरुलाई नाईं भन्न सक्दैनन् जसका कारण अधिकांश काम समयमा सक्न भ्याउँदैनन् । 
यस्ता खालका व्यक्तिहरु सधैं असल बन्नुपर्छ, अरुको चित्त दुखाउन हुँदैन भन्ने मान्यता बोकेका हुन्छन् । यस्तो व्यक्तित्वका मानिसमा अरुसँग विश्वास टुट्ला कि, अरु मसँग असहमत हुन्छन् कि भन्ने डर हुन्छ । यिनीहरुले आफ्नो भावावेग अरु माझ अभिव्यक्त गर्ने गर्दछन् । 
अभिव्यक्तकर्ता 
अभिव्यक्त कर्ता व्यक्तित्व भएका मानिसहरुका स्वभाव अत्यन्त उत्साहवर्दक, वाहिरी काम रुचाउने, अरुलाई दवावपूर्वक काम गराउन सक्ने, छिट्टो निर्णय गर्न सक्ने, अरुलाई उत्प्रेरित गराउन सक्ने, कुनै पनि काम गर्नु पर्दा कसले गर्ने, कोको समावेश हुने भन्ने जस्ता प्रश्नमा मन्थन गर्ने गर्दछन् । रमाइलो गर्न मन पराउने, रमाईला खालका हुन्छन् । यस्ता खालका व्यक्तिले सही कुरा वोलिहाल्नु पर्छ चाहे आफ्नो लागि होस् या अरुको लागि भन्ने मुल्य र मान्यता बोकेका हुन्छन् । जसका कारण उनीहरुलाई छुच्चो स्वभाव भएका पनि भन्ने गरिन्छ । यसैगरी आफुलाई ठिक लागे पछि, उनीहरु काम सुरु गरिहाल्छन् । जसले गर्दा कहिलेकाहिँ उनीहरुले ठूलो नोक्सानी पनि खेप्नुपर्ने हुन्छ । अभिव्यक्त गर्ने स्वभावका व्यक्तिहरुको मुख्य डर भन्नु नै अरुले अस्वीकार गर्ला कि भन्ने हुन्छ । यिनीहरुले पनि आफ्नो भावावेगहरु अरुको माझ देखाउने गर्छन् । 
विश्लेषक 
विश्लेषक व्यक्तित्वका मानिसहरुको स्वभाव अत्यन्त गम्भीर, कुनै पनि काम कसरी गर्न सकिन्छ भनी सोंचेर मात्र निर्णय गर्ने खालको हुन्छ । आफ्नो दुख अरुलाई नदेखाउने, बाहिरी कामभन्दा भित्रको काम गर्न मन पराउने, कुनै पनि कुराको तत्थ्यांक तथा प्रमाण  सहित छलफल भयो भने मात्र विश्वास गर्ने खालका हुन्छन् । यस्ता व्यक्तिको मूल्य र मान्यता उनीहरुले काम गरे पछि सहि परिणाम आउनु पर्दछ, गलत हुन हुदैन भन्ने मानसिकता हुन्छ । विश्लेषक स्वभावका व्यक्तिले अरुको अगाडी आत्मग्लानी हुनुपर्ला कि भन्ने डर वोकेका हुन्छन् । यिनीहरुले आफ्नो भावावेग अरुको माझ लुकाउँछन् ।
चालक 
चालक व्यक्तित्वका मानिसहरुको स्वभाव अत्यन्त आत्मनिर्भर, कृयाशील, बाहिरी काम गर्न मन पराउने, परिणाममा केन्द्रित हुने, निर्देशन गर्न सक्ने, समय वचाउनु पर्छ भन्ने धारणाका हुन्छन् । अरुलाई आफ्नो वशमा राख्न सक्ने, मालिक स्वभावका हुन्छन् । कुनै पनि काम गर्दा के काम गर्ने, यसले आफूलाई, आफ्नो समूहलाई र कम्पनीलाई के फाइदा हन्छ भन्ने प्रश्नमा निकै मन्थन गर्ने गर्छन् । यस्तो व्यक्तित्वका मानिसहरुकाम भनेको परिणाममुखी हुनुपर्दछ भन्ने ठान्छन् । चालक स्वभावका व्यक्तिहरु आफ्नो शक्ति खोसिएला भन्ने डर बोकेका हुन्छन् । यिनीहरुले आफ्नो भावावेगहरु अरुको माझ देखाउन चाहँदैनन् । 
यसरी विभिन्न मानव स्वभाव र उनीहरुका मूल्य र मान्यता अनुसार उनीहको वाह्य र आन्तरीक क्षमताको विकास गर्दै जानु पर्छ । 
जीवनमा सफल हुनका लागि हाम्रो व्यक्तित्वकाे चौतर्फी विकास हुनु अत्यावश्यक छ । ती पक्षहरु निम्न छन्,
१. सामाजिक विकास
२. मानसिक विकास 
३. आध्यात्मिक विकास 
४. आर्थिक विकास 
५. पारिवारीक विकास 
६. व्यावसायिक विकास 
७. स्वास्थ्य 
८. शैक्षिक उत्थान
माथि उल्लिखित सबै पक्षको सन्तुलित विकास हुन आवश्यक छ । तथापि यी मध्ये दुई पक्ष सामाजिक र मानसिक पक्षको विकास कसरी गर्न सकिन्छ भन्ने वारे केही विधि यहाँ उल्लेख गरिन्छ ।
डेल कार्नेगी लेख्छन्, कति मानिसहरु धेरै डिग्री हासिल गरेका हुन्छन्, अनुभवी पनि हुन्छन्, पैसा पनि पर्याप्त कमाएका हुन्छन् तर उनीहरुको व्यक्तित्व अरुलाई मन परिरहेको हुँदैन । जसका कारण ती व्यक्ति अरुको हृदयमा वस्न सक्दैनन् । परिणाम स्वरुप जीवनका थुप्रै पक्षमा असफल हुन्छन् । त्यसैले कार्नेगी भन्छन् कि कि समाजिक सीपको विकास हुनु अत्यन्त आवश्यक छ । यो सीप विकासका लागि यसरी अभ्यास गर्नुपर्दछ ।
१. ९० सेकेण्ड अभ्यास गर्ने
२. नाम तथा पहिचान स्मरण गर्ने
३. प्रभावकारी सुन्ने कला
४. अरुको रुची अनुसारको कुरा गर्ने
५. अरुको प्रशंसा गर्ने
९० सेकेण्ड अभ्यास :
कसैको हृदयमा सजिलै बस्न सकिने अत्यन्त प्रभावकारी अभ्यास हो यो ९० सेकेण्ड अभ्यास । यो विधिको प्रयोग पूर्व अमेरीकी राष्ट्रपति वाराक ओबामाले पनि प्रयोग गरिरहेका छन् । किन ओबामाले समेत यो अभ्यास गरे भनी खोजी गर्दा के तथ्य भेटिन्छ भने हरेक व्यक्तिले सम्मान चाहन्छ, आफूलाई ध्यान दिइयोस् भन्ने चाहन्छ, अरुको तुलनामा आफू अलिक पृथक तथा ठूलो ठहरिउँ भन्ने चाहन्छ । त्यसैले यो अभ्यासमा तीनवटा कुरालाई ध्यानमा राखी अभ्यास गर्नु पर्दछ,
(क) आँखा जुधाउनेः कसैलाई भेट्दा त्यो व्यक्ति संग आँखा जुधाउने ताकि उसले आफूलाई तपाईंले ध्यान दिएको महशुस गरोस् । यसको अभ्यास गर्न २१ दिनसम्म हरेक दिन ऐनामा आफ्नै अनुहार हेरेर, आँखा जुधाएर कुरा गर्ने । आवश्यकता अनुसार यसलाई निरन्तरता दिने ।
(ख) शरिरलाई थोरै झुकाउनेः  ताकि उसलाई यो महसुस होस कि म उ भन्दा अलिक ठूलो छु । यसको अभ्यास गर्नका लागि सधै भेट्ने व्यक्तिहरु संग कुरा गर्दा सचेतनाको साथमा निरन्तर अभ्यास गर्ने । 
(ग) मुस्कानका साथ अभिव्यक्त गर्ने ताकी उसलाई सहजताको अनुभुति होस् र तपाईले उसलार्ई स्वीकार गर्नु भएको महसुश गरोस् । यसको अभ्यासको लागि पनि सधै भेट्ने व्यक्तिहरुसँग २१ दिन सम्म सचेतनाको साथमा मुसुक्क हाँस्दै कुरा गर्ने ।
 
नाम तथा पहिचान स्मरण गर्नेः 
हरेक व्यक्तिलाई आफ्नो नाम तथा पहिचान प्यारो लाग्छ । विदेशीहरुले सगरमाथाको नाम शुद्धसँग उच्चारण गरीदिँदा पनि हामी खुसी हुन्छौं । अर्को उदाहरण एउटा डिपार्टमेन्टल स्टोरको हो जहाँ एउटी कर्मचारीको नाम लिशा थियो । एकजना ग्राहक दोस्रो पटक आउँँदा ती कर्मचारीकोे नाम लिएर बोलाए, उनी अति नै प्रशन्न भईन् अनि खुसीको मुद्रामा आई सामान बोकेर वाहिरसम्म छोड्न आउने गर्न थालिन् । जसले गर्दा ती ग्राहक पटकपटक आउन थालेछ । त्यसैले एक जना व्यक्तिले सामाजिक सीप अभ्यासमा ल्याउँदा त्यो व्यक्तिको व्यक्तित्वमा परिवर्तन आउनुको साथै व्यापार पनि वढ्न थाल्यो । 
 
प्रभावकारी सुन्ने कलाः
व्यक्तित्व विकासको लागि असल श्रवक बन्नु अत्यन्त जरुरी छ । सुन्ने कलाको विकास भयो भने हाम्रो व्यक्तित्वमा सकारात्मक परिवर्तन हुन्छ भनेर सवैलाई थाहा हुँदाहुँदै पनि सुन्न नसक्नाले काम विग्रन्छ र व्यक्तित्व नकारात्मक देखिन्छ । सुन्ने कलाको विकासका लागि मनको स्थितिलाई वुझ्नु पर्दछ । पहिलो निस्कृय सुनाई र दोस्रो पूर्व वुझाई । 
निस्कृय सुनाई भनेको मन वाहिर गएको अवस्था हो । यस्तो अवस्थामा अरु व्यक्तिले वोलेका कुराहरु हामीले सुन्न सक्दैनौं जसको परिणाम हामीले केही पनि वुझ्दैनौं जसले हाम्रो व्यक्तित्वमा प्रत्यक्ष प्रभाव पर्दछ । यो अवस्था वाट माथि उठ्ने हो भने सबैभन्दा पहिला यो वुझुपर्यो कि मन को प्रवृत्ति एकै ठाउँमा वस्दैन, मन बाहिर गएको हो । दोस्रो, सचेत हुनुस् अनि तपाईको मनलाई आफै फिर्ता ल्याउनुस् । 
पुर्व वुझाईको अवस्था भनेको मन भरिएको अवस्था हो । यस्तो अवस्थामा अरु व्यक्तिले जे वोले पनि आफैले अर्थ लगाउँछ । यस्तो अवस्थाबाट माथि उठ्ने हो भने यो अवस्था भनेको के हो भन्ने वुझ्नुपर्छ । यो अवस्था भनेको हामीले देखेको, सुनेको, पढेको, अनुभव गरेको आधारमा बनेको एउटा विश्वाश हो । जसलाई फिल्टर पनि भनिन्छ । यो फिल्टरले गर्दा हामीले जे सुन्नु पर्ने हो त्यो भन्दा पनि जस्तो सुन्न चाह्यो त्यस्तै सुन्छौं । जसले गर्दा आउनुपर्ने परिणाम नअउन पनि सक्छ र व्यक्तित्वमा प्रत्यक्ष रुपमा असर पर्दछ । त्यसैले व्यक्तित्वलाई प्रभावकारी वनाउने हो भने सुन्ने कलाको विकास गर्नुपर्छ । 
अरुको रुची अनुसारको कुरा गर्ने
सबै मानिसलाई आफ्नो कुरा गरेको सुन्न मन पर्दछ । अरुको कुरामा उनीहरुलाई कुनै किसिमको भावनाहरु जोडिँदैन । त्यसैले कुनै पनि काम गर्दा र गराउँदा उनीहरुको इच्छा, रुची वुझेर त्यहि अनुसार गराउनु पर्छ । 
अरुलाई प्रशंसा गर्ने
मानिसहरु सम्मान तथा प्रशंसा खोज्छन् । त्यसैले यो मनोविज्ञान बुझेर, यदि आफ्नो पहिचान तथा व्यक्तित्व प्रभावशाली वनाउनु छ भने अरुको प्रशंसा गर्न सुरु गर्नुस् । किनकी हरेक व्यक्तिसँग कुनै न कुनै राम्रा पक्ष हुन्छन्, हरेक व्यक्तिसँग खास किसिमको प्रतिभा र क्षमता हुन्छ । त्यसैले प्रशंसा चाहे ठूलो कामको लागि होस् या सानो कामको लागि, प्रशंसा गर्न कन्जुस्याईं नगर्नुस् । अरुको प्रशंसाले तपाईंको व्यक्तित्व झन प्रभावकारी बनाउँछ । 
मानसिक विकास 

व्यक्तित्व विकासका लागि मानसिक विकास अपरिहार्य छ । मानसीक पक्ष भित्र मन र मष्तिष्क पर्छ । हाम्रो अभिव्यक्तीमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने भनेको हाम्रो मन तथा मष्तिस्कले नै हो । परिस्थिति हामीले चाहे जस्तो नभएमा मनलाई काबुमा राख्न सक्दैनौं अनि विचलित भएर  नकारात्मक अभिव्यक्ती दिन्छौं । परिणामस्वरुप रिसाहा तथा मुर्ख व्यक्तित्व वन्छ । त्यसैले यो पक्षको विकास गर्ने हो भने मन र मष्तिष्कलाई प्रशिक्षण गराउनु पर्छ । अन्तराष्ट्रिय प्रशिक्षक टोनी रोवीन्सले भनेका छन् कि जसरी व्यायामबाट सरीरको मांशपेशी बलियो तथा स्वस्थ राख्न सकिन्छ, त्यसैगरी मष्तिस्कको मांसपेशी स्वस्थ राख्न सकारात्मक भाषाका माध्यमवाट प्रोग्रामीङ गर्नु पर्दछ जुन भाषाहरु वोलेर वा हाउभाउ पनि हुन सक्छ । जस्तै कि म सक्दिन, म कमजोर छु भन्ने भाव परिवर्तन गरेर म सक्छु, म बलियो छु भन्ने भाषा मष्तिस्कमा प्रोग्रामिङ गर्दै जानु पर्छ । यसले आत्मविश्वाश वढ्छ  ।
मनलाई काबुमा राख्ने भनेको मनमा आएका राम्रा नराम्रा विचारहरु प्रति सचेत भई त्यसवाट विचलित नहुनु हो । 
एक दिन गौतम बुद्ध धेरै अनुयायीहरुसँग ध्यानमग्न थिए । त्यति नै बेला समाजका वुद्धिजीवी कहलिएकाहरु आएर बुद्धलाई जिज्ञासा राखेछन्,  यतिका वर्ष ध्यान गरेर तपाईले के पाउनुभयो ? 
जवाफमा वुद्धले केही पनि पाइनँ भन्नुभएछ । यस्तो उत्तर सुनेपछि उनीहरुले सबै अनुयायीहरुलाई केहि नपाउने भए किन समय बर्बाद गरिरहेका छौ भन्दै भड्काउन थालेछन् । त्यसपछि वुद्धले सबैलाई शान्त गराएर भन्नुभएछ, मैले केहि पनि पाइनँ तर म सँग रहेका पाँच नकारात्मक भाव काम, क्रोध, लोभ, मोह र अहंकार गुमाएँ भन्नु भएछ । 

लेखिका मल्ल नेशनल ईन्टिच्युट फर लिडरशिप डेभलपमेन्टकी प्रशिक्षक हुन् ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें