सोमवार, 16 सितंबर 2019

म को हुँ ?

स्वीकृति बराल 
म शिक्षित मान्छे । ममा धेरै कुराको ज्ञान छ । केही गर्ने हिम्मत छ । साहस छ । चानचुने मान्छे हुँदै होइन म । यस्तैयस्तै लाग्थ्यो मलाई । एकदिन जान्न मन लाग्यो आफुले केके जानेकी छु । केके बुझेकी छु भनेर । आफ्नै दिमाग पढ्दै गएँ, बुझ्दै गएँ । मौलिकता केही भेटिनँ । मलाई त्यहीत्यही कुरा थाहा रहेछ जति अरुले सिकाए । त्यति नै मात्र ज्ञान रहेछ जति मैले पढेकी छु । मलाई त्यति नै मात्र संसार थाहा रहेछ जति देखेकी छु । छक्क परेँ । एकछिन अघिसम्म ममा डेरा जमाएर बसेको अहं छिनभरमै चकनाचुर भयो । एकछिन अघिसम्म भरिपूर्ण आफू एकाएक खाली भएजस्तो लाग्यो । मैले आफूमा मौलिकता भेटिँन । नयाँ केही भेटिँन । लाग्यो म केही नि हैन ।
जिज्ञासा जाग्यो, आफ्नै दिमागलाई खोतलेर हेर्ने । खोतल्दै गएँ । आफ्नो विचारभन्दा अरुकै विचार धेरै भेटेँ । फलानोले भनेको, ढिस्कानाले भनेको । आफ्नै दिमागलाई मैले अरुको कुराको, सिद्धान्तहरुको, भनाइहरुको स्टोर बनाएकी रहेछु । छान्न मन लाग्यो मलाई दिमागमा भरिएका कुरा । सोचेँ जे आफ्नो मौलिक सोच छ त्यो राख्नेछु र अरु सबै फाल्नेछु । अनि छान्न थालेँ एकएक कुरा, के दिमागमै राखौँ र के निकालौँ भनेर । केलाउँदै गएँ अरुले सिकाएका कुरा । अरुले पढाएका कुरा ।  छक्क परेँ । आफ्ना तर्क, विचार, रहर, सोच केही छैन । अघिसम्म भरी भएको दिमाग पुरै रित्तिएको थियो । म अलमल्ल परेँ । अब खाली दिमाग लिएर हिँडौँ या फेरी एकएक गरेर अघि निकालेका सबै कुरा दिमागभित्रै हालौँ ? 
 
सबैलाई अरुकै कुरा पढ्न र जान्न मन छ तर कसैलाई फुर्सद छैन आफ्नो मन र दिमाग पढ्ने । मलाई डाह लाग्दैन धेरै पढ्नेसँग । हातमा किताब, मनमा उत्साह र समय हुने हो भने जसले पनि पढ्न सक्छ, तर खै त मौलिकता ? 
रित्तो दिमाग लिएर एकछिन टोलाइरहेँ, जिल्ल परें । हरेक नराम्रो पक्षमा एउटा राम्रो पक्ष हुन्छ भन्ने आज हो झैँ लाग्यो मलाई किनभने आज मेरो दिमाग मात्र रित्तिएको थिएन दिमागसँगै घमण्ड पनि रित्तिएको थियो ।
घोक्न हुँदैन, बुझेर पढ्नु पर्छ । यो कुरा सबैलाई थाहा छ र मलाई पनि यो कुरा थाहा थियो । बच्चै हुँदादेखि थाहा भएको कुरा । खै ! घोक्न हुन्छ कि हुँदैन । जिन्दगीको पहिलो पढाई नै घोकेर भएको हो । आजसम्म पनि क,ख,ग,घ र ए,बि,सी,डि को अर्थ थाहा छैन । मैले मात्र घोकेकी हुँ । न आफुले बुझेकी छु न अरुलाई बुझाउन सक्छु । सानोमा त बुद्धि भएन घोकेँ भनौँ भने सानोमा मात्र हैन ठूलै भए पछि पनि घोकेरै पढेकी छु । धेरैजनाका धेरैथरी सिद्धान्त घोक्नै पर्छ, दिमागलाई दबाब दिनै पर्छ । नत्र कसरी परीक्षामा लेख्ने ? 
विज्ञानमा त अझ कति कुरा हुबहु लेख्नु पर्छ । नघोकेर सुखै पाइँदैन । बुझेर पढ्नु पर्छ भन्दै घोक्न बाध्य बनाउने यो शैक्षिक प्रणालीले मलाई यतिसम्म घोकायो कि मलाई आफ्ना हैन अरुका कुरा मात्र आउँछन् । मभित्र अरुकै सोचाइ घुमिरहन्छ र बोल्दा पनि प्रायः अरुकै सिद्धान्त बोल्ने गर्छु । 
मेरा हरेक काम गराईमा अरुको झलक भेटिन्छ । जसरी पकाउन सिकेकी छु सधैं  त्यसरी नै पकाउँछु । ममा नौलौ कुरा खाने, नौलो परिकार बनाउने हिम्मत छैन । म डराउँछु कतै नयाँ कुरा खाँदा विष पर्ने पो कि ! मरिन्छ कि ! दुइटा फरकफरक कुराहरु मिसाउँदा केमिकल रियाक्सन पो हुने हो कि ? ममात्र डरैडरको पोको हुँ  जसमा न कुनै मौलिकता छ न नयाँपन । ती मानिस जसले पहिलोपटक नयाँनयाँ खानेकुरा खाने हिम्मत गरे तिनलाई सम्झँदा सलाम गर्न मन लाग्छ । 
ओखरको सारो खबटोभित्र त्यति मिठो खानेकुरा छ भनेर कसले पत्ता लगायो होला ? नरिवल फोडेर खाने हिम्मत कसले ग¥यो होला ? नयाँनयाँ कुरा चाख्न पनि हिम्मत चाहिन्छ, ज्यानकै जोखिम हुन सक्छ । छैन ममा त्यो हिम्मत । 
अन्य कुरामा पनि त्यस्तै छ हाल । न्युटनले स्याउ खसेको देखे र सोचे रे ‘स्याउ माथि फाल्दा फेरि तल किन खस्यो ?’ उनले रुखबाट खसेको स्याउ हेरेर गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए जुन चानचुने कुरा हुँदै होइन । न्युटनले पत्ता लगाएको कुरा म पढ्छु र भन्छु ‘हो त है ...जे कुरा पनि माथि फालियो भने तलै खस्छ ।’ आँखा अगाडि कति कुरा माथिबाट तल खसे ममा कहिल्यै कुनै सोच आएन । त्यति जाबो किन खस्यो भन्ने प्रश्नले नयाँ सिद्धान्तै प्रतिपादित भयो । न्युटनमा नयाँ सोच आयो । नयाँ सोच, मौलिकपनको महत्व हुन्छ । नयाँ कुरा फलाउन नयाँ वीउ रोप्नु पर्छ । 
त्यसैले मेरो दिमाग रित्तो लाग्छ जहाँ कुनै नौलोपन छैन, मात्र अरुका कुरा छन्, अरुका भनाइ छन् । यस्तो लाग्छ  म म नै हैन, म पनि अरु नै हूँ  ।
एकथरी दङ्ग छन् धेरै पढेको छु भनेर । एकथरी जिल्ल छन् कसरी पढ्छन् भनेर । एकथरी खिन्न छन् किन पढिनँ भनेर । सबैलाई अरुकै कुरा पढ्न र जान्न मन छ तर कसैलाई फुर्सद छैन आफ्नो मन र दिमाग पढ्ने । सबैलाई आफु आफुजस्तै हैन अरुजस्तै बन्न मन छ । मलाई डाह लाग्दैन धेरै पढ्नेसँग । हातमा किताब, मनमा उत्साह र समय हुने हो भने जसले पनि पढ्न सक्छ तर खै त मौलिकता ? 
फ्रायडले भनेको मान्छेको सोच यस्तो हुन्छ रे, उस्तो हुन्छ रे । हामीलाई आफ्नो  बारेमा बुझ्न अरुको सिद्धान्त पढ्नु पर्छ र पढेर भन्छौँ, ‘अहो ! कस्तो मिलाको । म त्यस्तै त छु नि ।’ प्रायडले हाम्रो दिमाग पढेर बताए । हामी उनलाई पढ्छौँ र आफुलाई बुझ्छौं । फरक यति हो–नयाँ वा मौलिक सोच हुनु र नहुनुको । फ्रायडले दुनियाँलाई मनको बारेमा बताए । हामीले कसरी सोच्छौँ ? किन सोच्छौँ ? के कारणले सोच्छौँ ? उनले सबैका लागि नयाँ सिद्धान्त दिएर गए । हामी उनको सिद्धान्तमा आफुलाई मिलाउन खोज्छौँ र होमा हो भन्दै जान्छौँ । खैत हामीले आफुलाई बुझेको ।  
ती त भए ठूला कुरा । स–साना कुरामा पनि त्यस्तै छ मेरो हाल । मलाई म आफू पछ्यौटे झैँ लाग्छ  । अरुको कुराको पछि लाग्ने । जसले जे भन्यो त्यही सुन्ने । अरु त के कुरा मीठो नमिठो छुट्टयाउन सक्ने खुबी पनि छैन ममा । कहिलेकाहीँ आफूलाई नमिठो लागेका कुरा सात आठजनाले मिठो भनिदिए भने म अलमल्ल पर्छु । म नमिठो भनेर भन्न सक्तिन । बरु मलाई आफ्नै जिब्रोमा शंका लाग्छ । कतै मेरै जिब्रोले पो ठम्याएन कि । कतै जिब्रै खराब भयो कि ! थुक्क मेरो सोच । म अरुले जे देखायो त्यही हेर्न खोज्छु, अरुले जे सिकायो त्यही सिक्न खोज्छु । अरुले जहाँ लग्यो त्यहीँ जान खोज्छु, जुन राम्रो कुरा हुँदै होइन । 
लाग्छ म बच्चा भन्दा भिन्न छैन । मेरो सोचमा परम्परा, संस्कृति, घरपरिवार वातावरणले धेरै फरक पारेको छ । म म हैन यी सारा संस्कृति, परम्परा, वातावरणीय प्रभावको थुप्रो हुँ जहाँ पहिलेदेखि चलिआएको र सिकाइएका कुरा बाहेक नौलो छैन । ममा मौलिकता छैन ।
म अरुको आँखाबाट आफुलाई हेर्न खोज्छु । म अरुको मुखबाट आफुलाई सुन्न खोज्छु । म अरुको बुझाइबाट आफुलाई बुझ्न खोज्छु अनि भन्छु– मेरो पनि त आफ्नै सोच छ । कुनै लुगा लगाएर बाहिर निस्कँदा कसैले छ्या भनिदियो भने हतारहतार फेर्छु । कति असर गर्छ मलाई अरुका कुराले । मलाई पिरै अरुले के भन्छन् भन्ने छ । सभ्य भन्छन् या असभ्य । ज्ञानी भन्छन् या अज्ञानी । जान्ने भन्छन् या नजान्न्ने । मुर्ख भन्छन् या बुद्धिमान । मलाई थाहा छैन म कस्तो छु–अरुले मलाई भन्नुपर्छ । ज्ञानी भने फुरुङ हुन्छु, अज्ञानी भने खस्रक्क हुन्छु ।  
म अरुले भनेको कुरा नदेखे पनि विश्वास गर्छु । आफुले देखेकै कुरा पनि बरु विश्वास गर्दिन । पहिलेपहिले म रेडियोको समय अनुसार आफ्नो घडीको समय मिलाउथेँ । ‘यो रेडियो नेपाल हो अहिले बिहानको नौ बज्यो । अब सुन्नुहोस् नेपालीमा पुरा समाचार ।’ यति सुन्नासाथ हतारहतार नाडी घडी हेर्थे र एक दुइ मिनेट फरक भए मिलाइ हाल्थेँ । कति विश्वास मलाई अरुको अनि कति अविश्वास आफ्नै घडीको । 
रमाइलो कुरा त के हो भने संसारै बुझे जसरी कुरा गर्ने मैले आजसम्म आफैँलाई चिनेकी रहेनछु । कसैले ‘तिमी को हौ’ भनेर सोधिहाले गमक्क परेर नाम बताउँछु । अरुले राखिदिएको नाम । मेरो परिचय पनि अरुले नै बताएका हुन् मलाई । के घमण्ड गर्नु, किन घमण्ड गर्नु । म के नै हुँ र ? घमण्ड गर्न लायक के नै छ र ?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें