राजनीतिक व्यवस्थाका आधारमा राजनीति गर्ने विधि र पार्टी संरचना फरक हुन्छ । राजनीतिक व्यवस्था परिवर्तनसँगै अबको हाम्रो मुख्य एजेन्डा आर्थिक विकास हो र हुनुपर्छ । विकास र समृद्धिको एजेन्डा लागू गर्न युवापुस्ता जबर्जस्त राजनीतिमा अगाडि आउनुपर्छ । तर, युवापुस्ताले राजनीतिलाई घृणा गरिरहेको छ । राजनीतिलाई पेसा बनाइँदा सिर्जित परिणामका कारण युवा राजनीतिबाट टाढिएको हो ।
विकासको मार्गमा बामे सर्दै गरेको हाम्रो जस्तो देशको राजनीतिमा युवाको सक्रिय सहभागिता अपरिहार्य छ । अहिले राजनीतिलाई आर्थिक एजेन्डासँग जोड्नुपर्ने वेला हो, जसका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । विकास गर्ने युवाले नै हो । भाषण र व्यवस्था परिवर्तनका लागि धेरै आन्दोलन भए, गरिए । यसर्थ, अब समृद्धिका लागि आन्दोलन हुनुपर्छ ।अहिले हाम्रो देशमा ४० प्रतिशत युवा जनसंख्या छ । यो जनशक्ति कुनै पनि देशका लागि ‘बोनस’ शक्ति हो, जुन अरू देशमा छैन । यो शक्तिलाई सदुपयोग गरेर देशलाई समृद्ध बनाउन सक्ने प्रबल सम्भावना हामीसामु छ । हाम्रा युवाले अन्य मुलुक, विशेषतः खाडी मुलुकको समृद्धिमा निकै ठूलो योगदान दिएका छन् । तर, हामीले आफ्नै देशको विकासका लागि भने युवालाई सहभागी बनाउन सकेका छैनौँ । अब युवाशक्तिलाई देशभित्रै सदुपयोग गरी देशलाई विकसित बनाउने वातावरण निर्माण गर्नुपर्छ ।देशको विकास गर्ने हामीले नै हो । जनसंख्याको हिसाबले हेर्दा यसमा हाम्रो देशको अवस्था निकै राम्रो छ । एकै घरमा चारजनासम्म युवा जुनसुकै काम गर्न सक्ने हैसियतका भेटिन्छन् । तर, अबको केही वर्षपछि त्यो अवस्था हुँदैन । किनकि मानिसहरू एकभन्दा बढी बच्चा जन्माउन चाहँदैनन् । धेरै भनेको दुईजना मात्र हुन सक्छन् । त्यो हिसाबले भोलिका दिनमा युवाको जनसंख्या पनि घट्नेछ । यसर्थ, अहिलेको ४० प्रतिशत युवा एकैचोटि बुढो हुनेछन्, त्यसपछि अहिलेको हाराहारीमा युवाको जनसंख्यामा कमी आउने निश्चित छ । त्यसपछि देश विकासका लागि अन्य मुलुकबाट युवालाई ल्याउनुपर्ने अवस्था आउँछ, जसका लागि देश धनी हुनुपर्छ । यस्तै अवस्था कायम रहने हो भने देश धनी हुन सक्दैन ।हाम्रो पुस्ताले छोटो समयमा धेरै अनुभव हासिल गरिसकेको छ । हाम्रो पुस्ताको एउटै युवाले गाउँमा घाँस काट्नेदेखि विश्वको कुनाकुना पुगेर हाई टेक्नोलोजी प्रयोग गरेको अनुभव छोटो समयमै हासिल गरिसकेको छ । चप्पल–जुत्ता नलगाई स्कुल गएको व्यक्तिले विश्वको कुना–कुनासम्म पुगेर प्रविधिको प्रयोगको अनुभव संगाल्ने मौका पाएको छ । विश्वभर हाम्रै समयमा विकासको गति तीव्र भइरहेको छ । हाम्रासामु अरूले निकै ठूलो लगानी गरेर विकास गरेको प्रविधि प्रयोग गर्ने अवसर पनि छ । त्यसैले हाम्रै पुस्ताले देशलाई समृद्ध बनाउने ठूलो सम्भावना छ ।यो पुस्ताले देशलाई समृद्ध बनाउन राजनीतिमा प्रत्यक्ष रूपले हस्तक्षेप गर्नैपर्छ । यसो गर्न सकिएन भने त्यो हाम्रो पुस्ताको ठूलो भूल हुनेछ । अबको पुस्ताको विकास र हुर्काइ फरक ढंगले हुनेछ । हाम्रो पुस्ताले ठूलो राजनीतिक व्यवस्था परिवर्तनको अनुभव पनि गर्न पायो र आर्थिक रूपले पनि अभावबाट गुज्रिँदै विश्वका सम्पन्न देशमा गएर त्यहाँको अनुभव पनि सँगालेको छ । हाम्रै पुस्ता कैयौँ देशको विकास र समृद्धिमा प्रत्यक्ष सहभागी पनि भइरहेको छ ।विश्वभर छरिएर रहेका युवा साथीहरू जति पनि हुनुहुन्छ, उहाँहरूले देख्नुभएको होला, हाम्रो देशमा जस्तो प्राकृतिक स्रोत–साधन कुनै पनि देशमा छैन । नेपाल भूपरिवेष्टित हुनु नै आर्थिक विकासमा पछि पर्ने कारण हो भन्ने कतिपयको तर्कमा पनि सहमति हुन सकिन्न । भूपरिवेष्टित देश भन्ने एउटा समय थियो, जुन समयमा समुद्रबाट मात्रै सामान ल्याउने गरिन्थ्यो, त्यो समयमा यो तर्क ठीकै थियो । तर, अब यो तर्कमा सहमत हुन सकिँदैन । धेरै भूपरिवेष्टित देशले अकल्पनीय विकास गरिसकेका छन् ।जलस्रोतमा पनि हामी धनी छौँ । त्यसको सदुपयोग गरेर देश विकास गर्ने वातावरण निर्माण गर्नेमा अब राजनीतिक दलबीच प्रतिस्पर्धा हुनुपर्छ । अहिले हामी जुन अवस्थामा नेपालको राजनीतिमा सहभागी भएका छौँ, त्यहाँबाट उठ्न जरुरी छ । विकासका लागि स्रोत–साधन र सामथ्र्य पत्ता लगाउने र परिचालन गर्ने विधि भए पुग्छ । अब यस्तो विधिको विकास गरेर लागू गर्ने राजनीति चाहिन्छ । वैधानिक शक्ति आर्जन गर्दा, सरकारमा गएर विधि बनाउन र लागू गर्न केही सजिलो हुन्छ तर त्यसो हुन सकेन भने पनि त्यसका लागि दबाब दिन कसैले रोक्न सक्दैन । तर, हामीकहाँ अहिलेसम्मको राजनीतिक अभ्यास यस्तो छैन । त्यसैले अब यस्तो अभ्यासको विकास पनि गर्नुपर्छ।वर्तमान राजनीति तर्क र कुतर्कको परिधिमै सीमित छ । अनि यसले राजनीतिमा क्षमतावान् युवाको प्रवेशलाई सीमित तुल्याइदिएको छ, जसलाई नयाँ शक्तिको वैकल्पिक राजनीतिले ब्रेक गरेको छ ।अबको राजनीति भाषणबाजी, तर्क–कुतर्क, क्रिया–प्रतिक्रियामा मात्रै सीमित रहन सक्दैन, अब राजनीतिमा विषयविज्ञ युवाको सहभागिता आवश्यक छ । त्यसका लागि नयाँ शक्ति नै किन भन्ने प्रश्न पनि उठ्छ । राजनीतिमा आउन चाहने हाम्रो पुस्ताले अरू पार्टीमा गएर उनीहरूलाई परिवर्तन गरेर विकास गर्छु भन्ने सपना नदेखे पनि हुन्छ । उनीहरूमा रूपान्तरणको सम्भावना छैन ।७० वर्षको राजनीतिक इतिहास बोकेको पार्टीले आफ्नो घरआँगनको स्रोत–साधन परिचालन गर्न सकेको छैन भने ती पार्टीमा हामी प्रवेश गर्दा सबै समस्या हल हुन्छ भन्ने सोच्नु महाभूल हो । यो भूल गर्नबाट नेपाली युवा जोगिनैपर्छ । नयाँ शक्ति अरूभन्दा किन फरक छ भने यसको मूल नेतृत्व ४०–४२ वर्षको राजनीतिक इतिहासलाई दाउमा राखेर देशको आर्थिक विकास आफ्नै जीवनकालमा गर्नुपर्छ भनेर लागेको छ । यो हाम्रो स्वार्थी समाजसामु मूल नेतृत्वले गरेको सबैभन्दा जोखिमपूर्ण त्याग हो । त्यो त्याग देशको विकास गरौँ भन्ने पवित्र चाहनाले गरेको हो । त्यसैले देश–विदेशमा रहेका युवाको ऐक्यबद्धता र सहभागिता आवश्यक छ ।युवाले सोच्ने भनेको आफ्नो मातृभूमिलाई दिन सक्ने योगदान के हो ? त्यो एउटै छानोमुनिबाट सिर्जना गरौँ । देश बन्दा म पनि बन्छु भन्ने भावना हाम्रो दिमागमा राखेर काम गरे देश समृद्ध हुन धेरै लाग्दैन
सुनिल खड्का
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें