रविवार, 29 जुलाई 2018

दीगो सिकाइ र सफलताका लागि प्रेरणा

आर. के. ढुंगाना
संसारमा सफलतालाई परिभाषित गर्ने अनेक आयामहरु हुन्छन् । लक्ष्य प्राप्तिलाई सफलता मान्ने हो भने लक्ष्यमा पुग्ने पहिलो आधार कुनै पनि ज्ञान, सिप र कलामा निपुणता प्राप्त गरि हुने दिगो सिकाइलाई मान्न सकिन्छ । सिकाइ आफैमा निरन्तर प्रक्रिया हो । सफलताको सुचक पनि सिकाइको निरन्तरतामा आउने सकरात्मक परिणामहरुको आधारमा निर्धारित हुने गर्दछ । सिकाइ र सफलता एक अर्काका परिपूरक पनि हुन् । सफल जीन्दगीको परिभाषा र भोगाइभित्र नभइ नहुने कुरा हो–अर्थपूर्ण सिकाइ, सकारात्मक रुपान्तरणको निरन्तरता र खुसी प्राप्ति । व्यक्तिले ठान्ने सफलता र बाह्य जगतले मान्ने सफलता फरक हुन्छन् । व्यक्तिगत रुपमा ठान्दा व्यक्तिले लिएको लक्ष्य प्राप्तिलाई सफलताको आधार मान्न सकिन्छ । समाजले मान्ने सफलताको सुचक भने फरक हुन सक्दछ । नदेखिएको संघर्षलाई अवमूल्यन गर्दै देखिएको प्राप्तिलाई मात्र मूल्याङ्कन गरेर सफलतालाई दाज्नु उचित हुदैँन । निरन्तर संघर्ष र अनुभवहरु नै सफलताको आधार हुन । सफलताका लागि उत्प्ररित गर्न बाह्य अथवा आन्तरिक, दुवै उत्प्ररेणाको आवश्यकता हुन्छ । आजको विज्ञान र प्रविधिको जमानामा मानिस क्षणभरमै कुनै कर्म लागि उत्साहित र अभिप्रेरित हुन सक्दछ, त्यसैगरि रत्तीभरमै अघिको उत्प्रेरणा हराउन सक्छ । मानिस विरलै घण्टौसम्म एउटै विषयवस्तु वा कोर्समा तल्लिन हुन सक्दछ । लामो अध्ययन, अनुसन्धान र ध्यानबाट मात्र मानिसमा ज्ञानको अथाह उर्जा प्राप्त हुन्छ । जव व्यक्ति कुनै एउटा कर्मलाई सफल नबनाएसम्म, अध्ययन र अनुसन्धानको तात्विक ज्ञान प्राप्त नगरेसम्म अगाडि बढ्न प्रेरित भइरहन्छ, तवमात्र दिगो सिकाइको लागि आधार तयार हुन्छ ।
जो कोहिको जीवन अत्यन्तै मूल्यवान छ, तर हामीले जानेर वा नजानेर यसको अवमूल्यन गरिरहेका हुन्छौँ । हामी सबै सफल हुन चाहन्छौँ तर चुक्न चाहँदैनौँ, झुक्न चाहँदैनौँ । जीवनमा सफलता भनेको कुनै रोगको विरुद्ध एन्टिवायोटिक खाए जसरी प्राप्त हुँदैन । यो त एक निरन्तर योजनावद्ध प्रक्रियाबाट मात्र प्राप्त हुन्छ । जुन पक्रियामा निरन्तर प्रेरणाको प्रमुख भूमिका रहन्छ । कुनै पनि मानिस दुई तरिकाबाट उत्प्रेरित हुन सक्छ, एक जीवन र जगतको अध्ययनबाट भित्रैबाट उत्पन्न हुने आन्तरिक उत्प्रेरणा र अर्को अरुले भरिदिने, भराइदिने र वातावरणले प्रवाह गरिदिने बाह्य उत्प्रेरणा । यी दुईमा सवैभन्दा प्रभावकारी भनेको आन्तरिक उत्प्रेरणा नै हो । यसको प्राप्तिका लागि सत्कर्म, लक्ष्यप्राप्तिको तिव्र इच्छाशक्ति र प्रतिकुल वातावरणका बाबजुत अगाडि बढ्ने ट्याक्टिसको आवश्यकता हुन्छ ।
कुनै व्यक्ति विशेषको बिलकुल हामी सबैले आफ्नो कार्य अनि संघर्षलाई अंगालेका छौँ । सबै आ–आफ्नो गतिअनुसार दौडमा छौ तर बिडम्वना ती सबै संघर्षशील जीवनहरुलाई सफल भएको देख्दैनौ, केवल थोरै प्रतिशत मात्रै सफल भएको हामी पाउँछौँ । आखिर के हो त त्यो जड तत्व जसले हामीलाई सफल बनाउँछ र जसको कमीले मानिसलाई असफलतामा नै रुमलिएर बेवारिसे जीवन जीउन बाध्य तुल्याउँछ । हामीले बुझ्नुपर्ने कुराको चुरो यहि छ । मानिसलाई सहि मार्गमा डोहो¥याएर गन्तव्यमा सफल अवतरण गर्न नभइ नहुने कुरा हो व्यक्तिको तिव्र इच्छाशक्ति र आन्तरिक उत्प्रेरणा । यहि मानिसले लिएको लक्ष्य सहि छ, सहि योजना र रणनीति बनाएर अगाडि बढेको छ, र लक्ष्यप्राप्तिको आन्तरिक उत्प्रेरणामा अडिग छ भने भने जस्तोसुकै प्रतिकुल समय, चुनौति र वाधाव्यवधानका बाबजुत सफल भएरै छोड्दछ । त्यसैले सफल जीन्दगीको कुनै पनि वास्तविक कथा र इतिहासमा व्यक्तिको आन्तरिक उत्प्रेरणा र इच्छाशक्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
यसै प्रसङ्गमा तीब्र इच्छाशक्ति र आन्तरिक उत्प्रेरणाको कुरा प्रस्ट्याउन एउटा सान्दर्भिक कथा जोड्नु उपयुक्त होला । कुनै एउटा दरबारमा राजाले कुकुर पाल्ने मनसाय बनाए । कुकुरलाई पाल्ने योजनामुताविक सहजै पाइने गाँउले कुकुरभन्दा शहरमा पालिएको राम्रो किसिमको कुकुरलाई लाखौँ खर्च गरेर ल्याइयो । उक्त कुकुर एकदम हृष्टपुष्ट थियो, बलियो थियो र हैर्दै खाइलाग्दो पनि । एकदिन अचानक दरबारमा मृग पस्यो । त्यो मृग देखेपछि राजालाई मृगको मासु खान मन लाग्यो । मृग मार्न उक्त कुकुरलाई खटाइयो । कुकुरले कडा मेहनतले लखेट्यो तर विडम्बना उसले मृग मार्न सकेन, मृग दरबारबाट भागेर बाहिर निस्कियो । बाहिर एउटा भुसिया कुकुरले मृगलाई देख्यो र खेदायो । अन्ततः उसले मृगलाई मारेर खान सफल भयो । यो अचम्मको दृश्य राजाले देखिरहेका थिए । उनले आश्चर्य मान्दै सोधे, त्यो लाखौँ खर्च गरेर पालेको कुकुरले जाबो एउटा मृग मार्न सकेन तर बाहिरको भोको भुसिया कुकुरले मार्यो ! कसरी यस्तो भयो ? दरबारको एकजना मन्त्रीले भने महाराज दरबारको कुकुरले अरुको भोकको लागि, अरुको इच्छाको लागि काम गर्दै थियो भने बाहिरको भुसिया कुकुरले आफ्नो भोकको लागि, आफ्नो तीब्र चाहनाको लागि काम गर्दै थियो । भित्रको कुकुरलाई बाह्य उत्प्रेरणाले उत्प्रेरित गरेको थियो तर बाहिरको कुकुरलाई उसको आन्तरिक उत्प्रेरणाले काम गरेको थियो ।
कथामा भनिएजस्तै साँच्चै हामी के गर्दैछौ ? र हाम्रो आन्तरिक प्रेरणाको स्रोत के छ ? आफ्नो लक्ष्य प्राप्तिका लागि कति भोका छौ ? भन्ने कुराले हाम्रो काम गराइ र सिकाइमा फरक पारेको हुन्छ । वास्तवमा हामी कसका लागि संघर्ष गर्दैछौँ ? यदि सफलताका लािग हो भने हाम्रो सिक्ने शैलि, चिन्तन गर्ने शैलि, इच्छाशक्ति र आत्तरिक उत्प्रेरणालाई मजबुत बनाउन जरुरी छ । सफलता एकै पाइलामा पाइने कुरा होइन् । हरेक दिनको सहि कर्मले सफलताका लागि इँटा थप्ने काम गर्दछ । त्यसैले दिगो सिकाइ र सफलतालाई सहि अर्थमा हासिल गर्न उपयुक्त समय आउँला भनेर बस्ने होइन्, आजैबाट सोचि सम्झि सकारात्मक सोच र अभियानको सुरु गर्न आवश्यक छ ।
सामान्यतः मानिसलाई मनोरञ्जनात्मक कार्य गर्न कसैले भनिरहन पर्दैन । त्यहा उत्प्रेरणाको आवश्यकता पर्दैन । व्यक्ति स्वयम आनन्दजनक क्रियाकलापका लागि स्वयम उत्प्रेरित हुन्छ । जस्तै, टि.भी हेर्न, राम्रा फिल्म हेर्न, फेसबुकमा च्याट गर्न, मिल्ने साथीसँग घण्टौँ गफिएर बस्न, पार्टीमा रम्न आदिआदि । किनकी यस्ता कर्ममा मानिसलाई आनन्द र मजा आउँछ तर साँच्चिकै दिगोरुपमा सिकाइ हुने कुराका लागि, संघर्ष गर्नुपर्ने कर्मका लागि मानसिक लगानी हुने कर्मका लागि हामीलाई झ्याउँ लागेर आउँछ, जाँगर हराएर जान्छ । जस्तै, एउटै विषयवस्तुमा घण्टौ अध्ययन, अनुसन्धान गर्न, रामो समयसम्म पढ्न, विद्यालयमा गुरुहरुको लेक्चर सुन्न, धेरै मानसिक शक्ति प्रयोग हुने कार्य गर्न आदिआदि । यस्ता कर्म गर्न हामीलाई धेरै जाँगर चल्दैन्, भित्री उत्प्रेरणा मजबुत भएको वेला बाहेक यस्ता कार्य गर्दा हामी मुस्किलले एक घण्टा पनि टिक्न सक्दैनौ । कारण, आनन्द नदिने कार्यमा हामीलाई मजा आउँदैन् । त्यसैले २१ औँ शताव्दिमा लामो ध्यानका लागि हामीले आनन्द लाग्ने, मजा आउने कारणको खोजी गर्नुपर्दछ । त्यो कारण भनेको सफलताका लागि सहि लक्ष्यको छनोट, लक्ष्यप्राप्तिका लागि आवश्यक रणनीतिको तयारी, दिगो सिकाइ र अर्थपूर्ण सिकाइका लागिे सशक्त उत्प्रेरणा नै हो ।
(लेखकः शैक्षिक विकाससँग सम्बन्धित तालिमका उप्रेरक तथा व्यक्तित्व विकास, नेतृत्व विकास र व्यवस्थापनसम्बन्धी प्रशिक्षक हुन्)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें