रविवार, 29 जुलाई 2018

कस्ता नेता, कसका नेता ?

वारेन बेनिसले भनेका छन्–‘नेतृत्व भनेको योजनालाई यथार्थमा बदल्न सक्नु हो ।’ जोन म्याक्सवेलले नेता भनेको बाटो चिन्ने, बाटोमा हिड्ने र बाटो देखाउने व्यक्ति हो भनेका छन् । साधारणतया समाजको मौजुद संरचना र परिस्थितीबाट समाजलाई प्रगतिशिल बाटोमा अघि बढाउने व्यक्ति नै नेता हुन् ।
sudesh-Parajuliराजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक आन्दोलनका अलग अलग नेता हुन सक्छन् तर सबैको मुल भनेको राजनीतिक नेतृत्व नै हो । संसारको राजनीतिक आन्दोलनमा विचारका हिसाबले काल्र्स माक्र्स अहिलेसम्मकै सर्वमान्य विचारक हुन् । प्रगतिशिल विचारका आधारमा राजनीतिक क्रान्तिलाई सम्पन्न गर्दै विश्व मञ्चमा प्रगतिशिल झण्डा फहराउने महान राजनीतिज्ञका रुपमा लेलिन, माओत्सेतुङको नाम अग्रपंक्तिमा आउँछ ।

अहिले संसार मार्क्सले अघि सारेको विचार र त्यसका जगमा स्थापना गरिएका राज्य सत्ताहरुको पक्ष र विपक्षमै सिमित भएको छ । विचारका हिसाबले कार्ल मार्क्सले अघि सारेको कम्युनिष्ट दृष्टिकोण र राज्य सत्ताका हिसाबले रसिया, चीन, भेनेजुयला र क्युबालीहरु सामान्यतया एकातिर देखिन्छन् भने अमेरिका, बेलायत, जर्मन र जापान लगायतका राज्य सत्ताहरु तिनका विपरिद ध्रुवमा उभिएका छन् ।
जसरी संसार विचार राज्य सत्ताका आधारमा दुई ध्रुवमा विभाजित भएको छ, नेपालको राजनीतिक आन्दोलन पनि मुलतः दुई ध्रुवमै विभाजित भएको देखिन्छ । नेपालको राजनीतिमा कम्युनिष्ट र गैर कम्युनिष्ट शक्तिहरुका बिचमा मुलभूत संघर्ष देखिन्छ तर त्यो रुपमा भने कहिले जातीय त कहिले क्षेत्रीय शक्तिहरुको गठजोडमा सरकार गठन र विघटनका श्रृंखलाहरुमा पनि अभिव्यक्त भैरहेको छ । तर विचारका रुपमा हेर्ने हो भने कम्युनिष्ट र गैर कम्युनिष्टबीचकै संघर्ष हो । जातीय र क्षेत्रीयतावाद भने क्षणिक जस्तै हुन् ।
राजनीतिक नेतृत्वले जनताका लागि बाँच्न सकेन भने ऊ जनताको नेता बन्नै सक्दैन। तर नेपाली राजनीतिमा यतिबेला कस्को नेता बन्ने र कस्तो नेता बन्ने भन्ने मान्यता नै गौण हुँदै गएको छ । देश र जनता प्रति बफादार भन्दा पनि सिमित झुण्डहरुका आधारित नेता बन्ने परिपाटी वृद्धि हुँदै गएको छ । समाजमा प्रतिष्ठा कमाउने नाममा मौलिक प्रतिष्ठा गुमाउने प्रवृति बढेको छ । सत्ता र शक्तिको भोकले राजनीतिज्ञहरुले नैतिक र अनैतिक कर्मबीचको भेद बुझ्न छाडेका छन् । पार्टी र संगठनहरु सम्मेलनदेखि सम्मेलनसम्म सिमित भएका छन् । सरकारहरु गठन र बिघठन अप्राकृतिक श्रृंखलामा रुमलिएका छन् । लोकतन्त्र भनेकै सरकार गठन र बिघठन हो भन्ने नजिर स्थापित गर्न खोजिदैछ । लोकतन्त्रमा सरकार गठन र विघठनलाई सामान्य प्रक्रिया मानिन्छ तर सरकार बनाउने र गिराउने प्रक्रिया मात्रै पनि लोकतन्त्र होइन, त्यो त लोकतन्त्रको सबै भन्दा कुरुप पक्ष हो । लोकतन्त्रको कुरुप पक्षलाई प्रश्रय दिँदै सुन्दर पक्षमाथी प्रहार भैरहेको छ । जसले गर्दा उनीहरु प्रतिको जनविश्वास घट्दै गैरहेको छ ।
यतिबेला राजनीतिक नेतृत्व यति अलोकप्रिय बन्ने बाटोमा अघि बढेको छ की अब फलानो नेता आउँदैछन्, उनले देश बनाउने कुरा बोल्नेछन् भनेर कसैले पत्याउनै छोडिसकेका छन् । समाज बदल्छु, देश बनाउँछु भन्नेहरु आखिर किन यस्तो बाटोमा अघि बढे ? यो प्रश्नको जवाफ सरल छ । देश बनाउँछु भन्नेहरुले देश बनाउने योजना ल्याउन सकेनन् । गरिबका नेता बन्छु भन्नेहरु रातारात सडकबाट महलमा पुगे । झुपडीबाट नव धनाढ्यका रुपमा स्थापित भए । तर जनताको चुलो चौको उस्तै रह्यो । भारी बोक्नेहरु, कुटो कोदालो र हलो समाउनेहरु अनि गीट्टी बालुवा कुट्नेहरुलाई बाढिएको मुक्तिको सपना फगत सपनै रह्यो ।
लोकतन्त्रका नाममा जनतामाथी शासन गर्नेहरुले त जनताका पिरपर्का नबुझ्नु नौलो कुरै भएन । गरिबका नाममा नाममा राजनीति गर्ने, संसारमा सामाजिक न्याय र समानताको वकालत गर्ने कम्युनिष्टहरुले नै पनि जनताका मागको यथोचित सम्बोधन गर्न नसक्नु दुर्भाग्य नै हो । द्धन्द्धात्मक भौतिकवादालाई आत्मसाथ गर्ने कम्युनिष्ट पार्टी भित्र पनि वैचारिक संघर्षका नाममा झुण्डहरुको निर्माणले प्राथमिकता पाईरहेको छ ।
जनजिबिका, सामाजिक रुपान्तरण र राज्य सत्ताको चरित्र परिवर्तनका सवालहरुले महत्व पाउनै छाडेका छन् । राजनीतिक नेतृत्व र पार्टीका गतिबिधीहरु फराकिलो हुन छाडेर झनै साँघुरिँदै गएका छन् । वैचारिक संघर्ष व्यक्तिमा पुगेर टुंगिन थालेका छन् । अन्तरसंघर्षहरुका खुम्चिएर गुटगट आरोप प्रत्यारोपहरुमा बदलिन थालेका छन् । राजनीतिज्ञहरु नेता त बनिरहेका छन तर कस्को नेता बनिरहेका छौं भन्ने हेक्का आफैले पनि पाउन सकिरहेका छैनन् ।
यसको ज्वलन्त उदाहरण हो नेकपा(एमाले), माओवादी केन्द्र जस्ता मुलधारका कम्युनिष्ट पार्टीहरुमा देखिएको पदलोलुपता तथा गुट बन्दी हुन् । काँग्रेस भित्रको झगडा त इतिहासदेखि नै छर्लंग छदैछ । काँग्रेसभित्रकै आन्तरिक कलहका कारण २०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रजातन्त्र मासेको इतिहास हामीसँगै छ । फेरी त्यहि काँग्रेसबिचको गुटबन्दीकै कारण ज्ञानेन्द्र शाहले पछिल्लो पटक प्रजातन्त्रको घाँटी निमोठेका थिए । अस्वस्थ आन्तरिक प्रतिष्पर्धाकै कारण नेकपा(एमाले) फुटको शिकार भएको थियो र २०५६ सालको निर्वाचनमा भारी बहुमत ल्याएर जनपक्षिय शासन सञ्चालन गर्ने अवसरबाट चुकेको थियो । पछिल्लो पटक माओवादी पार्टी पनि त्यस्तै गुटको चपेटामा फसेर पटक पटक फुटको शिकार भैसकेको छ । राजनीतिक सिद्धान्त र स्पष्ट गन्तब्य बिनै च्याउ जस्तै राजनीतिक पार्टी गठन भएका छन् । बल्ल बल्ल जमानत जोगाएर एकाध समानुपातिक सिट प्राप्त गरेका पार्टीहरु पनि पटक पटक बिभाजनको शिकार भएका छन् ।
अधिकांशलाई पार्टीको अध्यक्ष नै बन्ने भुत सवार भएको छ । नेता बन्ने खेति यति फस्टाएको छ की अब सडकमा हिड्दा कुम ठोक्कियो भने त्यो कुनै पार्टीको केन्द्रिय सदस्य हुन सक्ने सम्भावना बढेको छ । पार्टी के हो ? त्यसको निर्माणका वैचारिक र सैद्धान्तिक आधार के हुन् ? कुन वर्गका लागि पार्टी निर्माण गर्ने हो ? तत्कालिन तथा दिर्घकालिन रणनीतिक के हुन ? आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण कसरी गर्ने भन्ने ठोस योजना बिनै लहैलहैमा नेता बन्ने होडबाजी चलेको छ । नयाँ खुल्ने पार्टीहरु कुनै पनि रुपमा योजना तथा कार्यक्रमबारे स्पष्ट छैनन् नै ।
पुराना र स्थापित राजनीतिक दलहरुका व्यवहारहरुले पनि जन चाहानालाई सम्बोधन गर्न सकिरहेका छैनन् । समाजलाई एकिकृत गर्ने जिम्मेवारी पाएकाहरु आफ्नै नेतृत्वमा समाजलाई खण्डित बनाइरहेका छन् । आखिर हामी कस्ता नेता र कस्ता नेता बन्न खोजिरहेका छौं ? यो प्रश्न दिन दुई गुणा रात चार गुणा पेचिलो बन्दै गएको छ । जतिसक्यो चाँडो हामी कस्ता र कस्का नेता बन्न खोजिरहेका छौं भन्ने स्पष्ट एकिन हुनु आवश्यक छ । गरिबका कुरा गरेर नव धनाढ्यका रुपमा स्थापित हुने छुट कसैलाई छैन र जनताले त्यस्तो प्रवृत्तिलाई कहिल्यै माफी गर्ने छैनन् ।
लेखक एमाले सम्बद्द  बिद्यार्थी संगठन अनेरास्ववियुका सचिव हुन् 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें