मंगलवार, 27 नवंबर 2018

बाँच्नका लागि के मात्रै गरिएन : तुलसी घिमिरे

चलचित्र निर्देशक तुलसी घिमिरेलाई नचिन्ने कमै होलान् । नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याइपुर्‍याउन उहाँले ठूलो योगदान पुर्‍याउनुभएको छ । तर उहाँ आफैँलाई यहाँसम्म आइपुग्न चाहिँ निकै संघर्ष गर्नुपर्‍यो । घिमिरेको सफलताको कथा, उहाँकै शब्दमा :

यसो सोच्छु जिन्दगी आफैंलाई कथा जस्तो लाग्छ । सुन्नेलाई त झनै दन्त्यकथा जस्तो लाग्न सक्छ । हुनपनि आखिर के मात्रै गरिएन जीवनमा बाँच्नको लागि । आफ्नो सपना पूरा गर्नको लागि । ति सबै आवश्यक थिए पनि ।
नत्र अहिलेको तुलसी घिमिरे कहाँ हुन्थ्यो होला ! ३ दिनसम्म भोकै बसिएन कि ! नसुतेरै कति रात बिताइएन कि ! विना तलव कति महिना काम गरिएन कि ! तर ति सवै काम गर्र्दै गर्दा मलाई कहिल्यै पछुतो लागेन ।
यसो नगरेर अर्को काम गरौं भन्ने १० मनमा १ मन पनि भएन । छँदाखाँदाको जागिर छोडेकोमा पछुतो पनि भएन । किनकी यी सबै मैले मेरो उद्देश्यका लागि भनौं सपनाका लागि गरेको थिएँ,  आफ्नो मर्जीले ।

३ दिन ३ रातको भोकले पनि विचलित बनाएन

मेरो गुरु कुनै कामले पुना जानुभयो, ५ दिनका लागि । गएको दिन त कोठामै रहलपहल खाना खाएँ । भोलिपल्टदेखि खानेकुरा केही भएन । न खल्तीमा पैसा नै । लज्जालु स्वभाव भएकाले पनि कसैलाई केही भन्न सकिन ।
३ दिन, ३ रात भोकै भएपछि एक साँझ गुरु अचानक देखिनुभयो, बाटोमा । अनुहार हेरेर उहाले भन्नुभयो, ‘खाना नहि खाया क्या ?’ मैले निन्याउरो स्वरमा आवाज निकालें ‘जी हाँ ।’ उहाँले कित्ने दिन से भन्नुभभयो । मैले ३ दिन से भनें ।
‘भगवान करें तो दो चारदिन और भोका रहे जाओ’ भनेर आफू पान चपाउँदै गुरु हिँड्नुभयो । आज चाहिँ खान पाइने भो भन्ने सपना पनि क्षणभरमा तुहियो । लाग्यो कस्तो ढुंगाको मन भएको मान्छे होला । मैले के बिगारें र अझै भोको होस् भन्ने श्राप दिएको होला भनेर सारै नराम्रो लाग्यो । संयोगले मैले त्यसको भोलीपल्ट केही खान पाएको थिएँ ।
अर्को हप्ता गुरुले भन्नुभो, ‘तेरो खासै ठूलो भाग्य छैन रहेछ । मान्छे १२/१३ दिनसम्म नखाएर मर्दैन । तैँले कम्तिमा ७/८ दिन भोको बस्नुपरेको भए जिन्दगीको असली रुप थाहा पाउँथिस् ।
त्योबेला बाँच्नका लागि के गर्ने भन्नेबारे तेरो दिमागमा अनेकौ उपायहरु आउँथे । विचारमा आउने त्यो उत्तेजनाले तँलाई जीवनमा सधैं डोहोर्‍याइ रहन्थ्यो । तर ३ दिनमात्रै भोको भइस्, अब तेरो विचारको उत्तेजनाको स्तर नै त्यहिं सीमित भयो ।’ अहिले सम्झँदा त्यो ‘ब्रम्हबाक्य’ जस्तो लाग्छ ।

फिल्मको यात्रा

७ कक्षामा पढ्दा एकदिन सरले सोध्नुभयो,‘तिमिहरु के बन्न चाहन्छौ ?’ मैले धेरै सोचें । खुब घोरिएँ । तर मेरो मन जतिबेला पनि फिल्ममा पुगेर ठोकियो । के गर्ने र बन्ने थाहा थिएन । तर मैले सरलाई भनिदिएँ, ‘म फिल्म क्षेत्रमा जान चाहन्छु । आइ वाण्ट टु ज्वाइन फिल्म लाइन ।’
म अध्ययनलाई अघि बढाइरहेको थिएँ । बिए पास गरेपछि सेन्ट्रल पावर एण्ड वाटर कम्पनीमा काम गर्न थालें । सिक्किममा फिल्मको सुटिङ खुवै हुन्थ्यो । मेरो जागिर चलिरहेका बेला रोमियो इन सिक्किमको युनिट सुटिङका लागि आयो ।
मैले त्यहाँका प्राविधिकहरुसँग चिनापर्ची मात्र होइन, दोस्ती नै गरें । जसले मलाई सानो रोल मिल्यो फिल्ममा । तर त्यसको पुरै सुटिङ नसकिँदै युनिट बम्बइ (अहिलेको मुम्बई) फर्कने भयो । मेरो भुमिकाका लागि पनि म त्यहाँ जानुपर्ने भयो । म गएँ ।
सुटिङ सकिएपछि मलाई घर फर्कने टिकट दिइयो । तर मलाई घर फर्कनु थिएन । त्यो जागिरको कुनै लोभ थिएन । किनकी म फिल्मी क्षेत्रमा केही गर्ने ‘जुनुन’ लिएर हिँडिरहेको थिएँ । मेरो दिमागमा फिल्म बाहेक केही पनि थिएन । एकप्रकारले म पागल जस्तै बनेको थिएँ, फिल्मका लागि । फेरि म मेरो सपनाको नगरि मुम्बईमा थिएँ ।
त्यो बेलामा डेनी डेन जोङक्पा, प्रकाश थापा, माला सिन्हा र मिष्टर गुरुङ मात्र थिए, नेपाली मुलका । म केही सूत्रहरु खोज्दै थिएँ । उही सूत्र अपनाएँ, प्राविधिकसँग दोस्ती गर्ने । मुम्बई गएपछि मैले साथीका विभिन्न अवतार पनि देखें ।
सिक्किम जाँदा जसजसको मैले खुब सेवा गरेको थिएँ । उनीहरु भन्थे अरे यार बम्बे आजाओ हम हे ना । तर जब म त्यहाँ गएँ, उनीहरुले खासै वास्ता गरेनन् । तैपनि हार खाइन । फिल्ममा केही गरिछोड्ने अठोट जो थियो ।

नेपाली फिल्म यात्रा

म फिल्म क्षेत्रमा केही गर्न चाहन्थें । तर के थाहा थिएन । बस् यत्ति थाहा थियो, म फिल्म क्षेत्रमै केही न केही गर्छु र चिनिन्छु । नेपाल आउँला फिल्म बनाउँला भन्ने सपनामा पनि चिताएको कुरा थिएन । तर एउटा यस्तो संयोग पर्‍यो कि जुन सुन्दा विश्वास नलाग्न पनि सक्छ ।
बम्बैमा कमलाकर कारखाजिन मेरा गुरु हुनुहुन्थ्यो । एकदिन प्रकाश थापा हाम्रो स्टुडियोमा आउनुभयो । हामी उहाँको एकदमै फ्यान थियौं । स्टुडियोमा हामीले नेपालीमा कुरा गरेको देखेर गुरुले सोध्नुभयो, ‘तँलाई नेपाली आउँछ ?’ मैले भनें, ‘म नेपाली हुँ ।’
‘नेपालमा कति फिल्म बने अहिलेसम्म ?’ गुरुको अर्को प्रश्न थियो । ‘सात’ मेरो उत्तर । सिन्दुरसम्म नेपालमा ७ वटा फिल्म बनेका थिए । ‘त्यसो भए तिमिहरु पायोनियर हुनसक्ने रहेछौ’ गुरुले भनेको कुरा मैले खासै बुझिन ।
अलि पछि गुरुपूर्णिमाको दिन गुरुले मलाई भन्नुभयो, ‘नेपालीमा १० वटा फिल्म बनाउनु ।’ दुखान्त संयोग भनौं, त्यसको ७ दिनमा गुरुको देहान्त भयो । मैले गुरुआज्ञा फिर्ता गराउन पनि सकिन । गुरुलाई भगवान मान्ने संस्कार र अभ्यासमा मैले त्यो गुरुआज्ञा नमान्ने कुरा भएन ।
अनि एक वंगलादेशीलाई लगानी गर्न लगाएर रञ्जित गजमेरसँग मिलेर ‘बाँसुरी’ फिल्म बनाएँ । त्यो फिल्मको एक रुपैयाँ पनि पारिश्रमिक हामीले लिएनौ । मलाई १० फिल्म बनाउनु थियो । जुन बम्बैमा बसेर सम्भव थिएन । अनि म काठमाडौं आएँ ।
दशौं फिल्मको रुपमा मैले ‘गुरुदक्षिणा’ बनाएँ । पछि यसको नाम ‘दक्षिणा’ मात्रै राखियो । गुरुको आज्ञा पूरा गर्न सकेकोमा म दंग थिए । त्यसबेलासम्म नेपालमा एक खालको छाप पनि म र मेरा फिल्मले छाडिसकेका थिए ।
तपाईंलाई नपत्याउने छुट छ कि त्यसबेलासम्म पनि म नेपाली फिल्म क्षेत्रमै हराउँला भन्ने छँदै थिएन । त्यसपछि म फेरि मुम्बई जान चाहन्थें । तयारी भइरहेको थियो । तर प्रकाश थापा, जितेन्द्र महत अभिलासी, रवी शाह, नीर शाह लगायत साथीभाइले भने ‘तपार्इंको राम्रो छाप नेपाली दर्शकमाझ परिसक्यो ।
अब फर्कनुभयो भने तपाईको नराम्रो छाप पर्नेछ । तपार्इंलाई सबैले स्वार्थी भन्नेछन् । बरु यतै बसौं सुखदुख बाँडौं ।’ प्रकाश थापा दाइले पनि तुलसी तँ मसँगै कम्पिटिसन गरेर यतै बस् भन्नुभयो । अनि मेरो मन १ सय ८० डिग्रीले मोडियो । पोकापन्तुरा सबै थन्क्याएँ र नेपाली फिल्ममै होमिएँ । नभन्दै दर्शकहरुबाट नसोचेको माया पाएँ ।

एउटा मानिस एक कामका लागि मात्रै हुन्छ

म स्कूलमा हुँदै थाहा पाएको थिएँ कि एउटा मान्छे एक क्षेत्रको लागि मात्रै हुन्छ । त्यो सहि जस्तो पनि लाग्छ मलाई । तर को कहाँ भन्ने कुरा चाहिँ निकै महत्वपूर्ण हो । आफ्नो अन्तरआत्माले भनेको कुरा मान्ने हो भने आफ्नो क्षेत्र निर्धारण गर्न सकिन्छ । तर सजिलो भने छैन । आफ्नो इच्छा र चाहना आफ्ना बा आमा अर्थात अभिभावकसंग भर पर्छ ।

पढेर होइन परेर सिकौँ

सिकाइका अनेकौं प्रक्रिया हुन सक्छन् । तर मेरो विचारमा पढेरभन्दा परेर सिक्नु कता हो कता राम्रो र प्रभावकारी हो । जीवनका लागि नभइ नहुने कुरा पढेर होइन परेर मात्र सिक्न सकिन्छ । पढेर सिक्ने कुरा सिद्धान्त हो, तर जीवन चलाउन व्यवहारिक सिकाई आवश्यक हुन्छ । परेर सिकेको सिकाई जीवनभरका लागि हुन्छ । त्यस्तो ज्ञानले जीउन सिकाउँछ ।

सफलता के हो ?

सफलताको मापन निकै कठिन कुरा हो । हाम्रोमा ठूलो घर हुने गाडी हुनेलाई सफल मान्ने गरिन्छ । तर मलाई यस्तो लाग्दैन । मेरो विचारमा सफलताको मापन मानिसको मुहारबाट हुन्छ । जो खुशी हुन्छ, उसको मुहार प्रशन्न हुन्छ । त्यही हो सफल व्यक्ति । धनसम्पत्ति धेरै छ, तर विभिन्न रोगले खान नहुने अवस्था छ भने त्यो कसरी सफल हुनसक्छ ?
हो बाँच्नको लागि पैसा आवश्यक पर्छ, तर यसको मतलव यो होइन कि धनसम्पत्ति नै सफलताको मुख्य र एकमात्र मापक होस् । सफलता भनेको आफूले चाहेको क्षेत्रमा काम गर्न पाउनु र त्यसैमा हराउन पाउनु हो ।

सफलताको सूत्र

मेरो अनुभवका आधारमा भन्ने हो भने सफलताका लागि सबैभन्दा ठूलो कुरा दृढता हो । मभित्र फिल्म क्षेत्रमा केही गर्ने जुन ‘जुनुन’ थियो, त्यसैले मलाई बम्बै पुर्‍यायो । त्यो प्राप्त गर्न मैले जे पनि गरें ।
भोकै बसें । सित्तैमा काम गरें । छँदाखाँदाको जागिर छोडें । सुटिङ्गमा चिया ‘सर्भ’ गरें । साना भनिने काम गरें, स्पटव्वाई, लाइटब्वाई, डुब्लिकेट एक्टर आदिआदि  । गुरुबचनलाई ब्रम्हबाक्य मानें । त्यसैले मलाई काठमाडौंसम्म ल्याइपुर्‍यायो र नेपाली फिल्म क्षेत्रमा समर्पित गरायो । जे गरें सबैसामु जगजाहेर छ ।
मेरो विचारमा मानिसले के गर्ने भन्ने कुरा आफैंले निर्धारण गर्ने हो । आत्मालाई सोध्नुस् के गर्ने निर्धारण गर्नुस् । त्यो गर्न सक्छु कि सक्दिन भन्ने सोच्नुस् । लक्ष्य निर्धारण लहडमा गर्ने होइन । केही समय पर्खेर आफंैलाई बुझेर र आफैसँग सोधेर गर्नुपर्छ ।
त्यसपछि त्यसका चुनौतीको समिक्षा गर्नुहोस् । के के समस्या आउनसक्छन ? र तिनलाई पर्घेल्न के गर्ने भन्ने कुरा सोच्नुहोस र त्यही आधारमा अघि बढ्ने तय गर्नुहोस् ।
मेरो विचारमा आफ्ना लक्ष्य बाआमासँग बाँड्नु र उहाँहरुको सल्लाहका आधारमा अघि बढ्नु नै सफलताको मुख्य कुरा हो । तर अहिलेको पुस्तामा धैर्य ५ मिनेटको छैन । बाआमालाई केही नजान्ने बुढाबुढीका रुपमा चित्रित गरिँदैछ ।
र के गर्ने भन्ने टुंगो वयस्क हुने बेलासम्म हुँदैन । मेरो विचारमा धैर्य नहुनु, लक्ष्य निर्धारण नगर्नु र अभिभावलाई कम आँक्नु सबै सफलता होइन, असफलताका द्योतक हुन् ।
प्रस्तुति : लक्ष्मण कार्की/उज्यालो

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें