बुधवार, 19 सितंबर 2018

समृद्धिका लागि युवा परिचालन, उद्यमसिलाता अनि युवामा लगानी आवस्यक

डा. प्रदीप मान तुलाचन
एसएलसी परीक्षा उत्तीर्ण गरेर श्रम बजारमा आउने युवाको संख्या वर्षमा करिब ६ लाख हाराहारी छ । अनि वर्षमा करिब चार लाख ५० हजार वैदेशिक रोजगारमा जान्छन् । नेपालका  औपचारिक र अनौपचारिक क्षेत्रमा वार्षिक करिब ६० हजार युवाले अवसर पाउँछन् । त्यसरी हेर्दा वर्षमा एक लाख युवा पूर्णत: बेरोजगार हुन्छन् । त्यसरी बाहिरिने युवाबाट वर्षमा करिब सात खर्ब नेपाल भित्रिन्छ, रेमिट्यान्सका रूपमा । अनि यससँगै अर्को तथ्यांक जोडेर विश्लेषण गर्न आवश्यक हुन्छ । गतवर्ष मात्रै उच्च शिक्षाका लागि ३२ हजार चार सयले बिदेसिने भन्दै शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । उनीहरूबाट वर्षमा करिब १९ अर्ब बिदेसिइरहेको छ । यसैसँग जोडिने तर केही वर्षअघि सार्वजनिक भएको नेपालको अर्थतन्त्रसम्बन्धी एउटा तथ्यांकले भन्छ– नेपालमा विदेशी अनुदान वर्षमा करिब ३५ अर्ब आउँछ र नेपालबाट वर्षमा करिब ६३ अर्ब बाहिरिन्छ । नेपालको समृद्धिका लागि यसरी बाहिरिने रकम र युवाको संख्यालाई कसरी नेपालमै उपयोग गर्न सकिन्छ ? बहस यहीँबाट सुरु
गर्नुपर्ने हुन्छ ।

युवाकेन्द्रित योजना
नेपालको अर्थतन्त्र युवाको मिहिनेतले धानेको छ । वर्षमा सात खर्बभन्दा बढी रकम युवाले खाडी मुलुकबाट ठाउँछन् । त्यही रकमले नेपालको राजनीतिक संक्रमणमा अर्थतन्त्र धानिरहेको छ । तर, रानजीतिक नेतृत्व र कर्मचारीतन्त्रले नेपाललाई समृद्ध बनाउने कार्यक्रम र योजना बनाउन सकेका छैनन् । अर्थात् युवाकेन्द्रित मार्गचित्र तयार हुन सकेको छैन । अहिलेसम्म नेपालमा जति पनि विकास निर्माणका कार्य भए, यसमा युवालाई समाहित गरेर योजना, कार्यक्रम वा परियोजना बनाउन सकिएको छैन । र, युवाबाट फाइदा लिन सकिन्छ भन्ने सोचको विकास पनि भएन । ती कार्यक्रम, परियोजनाले देशको समृद्धिमा कति फाइदा गर्छ ? वा कसरी फाइदा लिन सकिन्छ भन्ने सोचाइ भएन । हुन त युवासँग सम्बन्धित केही योजना बर्सेनि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिन्छ । तर, त्यसले परिणाम दिन सकेको छैन । राजनीतिज्ञ, योजनाकार र बुद्धिजीवीले युवालाई केन्द्रित गरेर योजना र कार्यक्रम बनाउन सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा, त्यसो हुन सकेको छैन । अहिलेसम्म उनीहरूले पनि यस सम्बन्धमा आवाज उठाएका छैनन् । नारामा उनीहरूले युवालक्षित कार्यक्रमको पक्षमा वकालत गरेको त देखिन्छ तर परिणाम निकाल्ने गरी काम गरेको भने देखिन्न । त्यसमा केही राजनीतिक कारण पनि छन् ।
राजनीतिक मुद्दा र फाइदाका लागि युवाको पक्षमा बोल्ने तर त्यसलाई टुंगोमा पुर्‍याउनेतर्फ कसैले चासो दिएको देखिन्न । युवा समस्या समाधान भएमा राजनीतिक दलका नेताको राजनीतिक नारा नै टुंगिन्छ, जुन उनीहरूले चाहने विषय नै भएन ।

पूर्वाधारमा युवा
नेपालको समृद्धिका लागि घरेलु तथा परम्परागत उद्योगधन्दाभन्दा पनि मेघा प्रोजेक्ट आवश्यक पर्छ । अहिलेसम्म त्यस्ता परियोजना नेपालमा सञ्चालन हुन सकेका छैनन् । सरकार र निजी क्षेत्रले हजारौँ युुवालाई एउटै ठूला परियोजना र कम्पनीमा रोजगार सिर्जना हुने गरी परियोजना सञ्चालन गर्न नसक्दा खुद्रे योजनाले समृद्धिको नारा  कार बनाउँछ । युवाशक्ति अहिलेका लागि राष्ट्रको शक्ति हो । युवालाई रोजगार दिन सकियो भने राष्ट्रलाई समृद्धिको बाटोतिर लैजान सकिन्छ र विकास निर्माण स्वत: उचाइतिर जान्छ । त्यसकारण युवालाई कसरी विकास निर्माणका ठूला परियोजना र कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने सोचको विकास गर्न आवश्यक पर्छ । देशको विकास र युवा लक्षित कार्यक्रमका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता हुनुपर्छ । त्यस्ता परियोजनामा शिक्षित, सीपयुक्त, अर्धसीपयुक्त, र सीपविहीन सबै प्रकारका युवाले अवसर पाउँछन् । त्यस्ता युवामा प्राविधिक र
गैरप्राविधिक दुवै पर्छन् । त्यसकारण सरकारले प्राथमिकतासाथ ठूला रेलवे, पुल–पुलेसा, जलविद्युुत् आयोजना, सडकलगायत पूर्वाधार योजना बनाउन आवश्यक छ । ती परियोजना निर्माण गर्न युवालाई लगाई आर्थिक विकास गर्न युवाशक्तिलाई सहभागी गराउन आवश्यक छ । कृषिमा खपत कृषि मन्त्रालयको एउटा तथ्यांकअनुसार अहिले नेपालको करिब एक लाख ५० हजार हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । जमिनमा काम गर्ने युवाशक्तिको अभाव, सिँचाइको समस्या, बिउबिजनको समस्याले समग्र कृषि उत्पादनमै कमी ल्याएको छ
। यसले मुलुकलाई बिस्तारै परनिर्भरतातिर धकेलिरहेको छ । कुनै समयमा धान निर्यात गर्ने प्रमुख देशमा नेपाल पनि पथ्र्यो, अहिले एकादेशको कथाजस्तै भएको छ र कुल खपतको ३० प्रतिशत धान आयात गर्न थालेका छौँ हामी । अर्थात् नेपाली भान्सा आयातीत खाद्यान्नले भरिभराउ भएको छ । त्यसकारण अब युवालाई
खपत गर्न सकिने सबैभन्दा ठूलो क्षेत्र कृषि नै हो । कृषि  क्षेत्रअन्तर्गतका खेतीपाती, पशुपालन, माछापालनलगायत तत्काल आम्दानी दिने क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गरी आधुनिक कृषि उत्पादन र बजार व्यवस्थापनमा युवालाई लगाउन सकिन्छ । यसका लागि उनीहरूलाई आधुनिक प्रविधिको प्रयोग गर्न अभिमुखीकरण तालिम दिन सकिन्छ ।
आइसिटी क्षेत्रमा अवसर
अहिलेको संसार डिजिटलाइज्ड बन्दै गएको छ । स्वाभाविक रूपमा त्यसको प्रभाव नेपालमा पनि परेका छ र युवामा यसको आकर्षण बढेको छ । सूचना तथा प्रविधिको क्षेत्र हरेक दिन नयाँ हुने क्षेत्र हो । त्यसकारण मान्छेका हरेक व्यवहार डिजिटल हुँदै गएका वेला आइसिटी क्षेत्रमा हजारौँ युवालाई खपत गराउन सकिन्छ । अहिले यो नेपालमा निकै ठूलो क्षेत्रको रूपमा विकास भइसकेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, विपत् व्यवस्थापनलगायत क्षेत्रको छिटो सूचना प्रवाह गराउनका लागि दक्ष बनाएर युवालाई अवसर प्रदान गर्न सकिन्छ । साथै, ई–मार्केटिङ वा ई–बिजनेसमा पनि युवालाई जोड्न सकिन्छ । पर्यटन प्रवद्र्धनमा खपत नेपालमा वर्षमा करिब सात लाख विदेशी पर्यटक भ्रमणमा आउँछन् । पर्यटनले वर्षमा नेपालको कुल गार्हस्थ उत्पादनमा करिब दुई प्रतिशत योगदान गर्छ । र, एकजना पर्यटकबाट करिब ११ जनाले अवसर पाउँछन् भन्ने अनुमान गरिन्छ ।
तर, नेपालको पर्यटन क्षेत्रमा दक्ष र सीपयुक्त युवाको संख्या कम छ । पर्यटनमा युवालाई सीपयुक्त बनाएर उपयोग गर्न सकिन्छ । पर्यटनका पर्वतारोहण, पदयात्रालगायत विविध क्षेत्रमध्ये नयाँ क्षेत्रका रूपमा एग्रो टुरिज्मको विकास गर्न सकिन्छ । एकातिर क्षेत्रविस्तार गर्ने अर्कातिर सीपयुक्त दक्ष जनशक्ति पर्यटनमा संलग्न हुने स्थिति आउँदा
पर्यटकले गर्ने खर्चमा वृद्धि हुन्छ । त्यस्ता युवालाई होटल, पदयात्रा, पथप्रदर्शक, सांस्कृतिक पर्यटन, होमस्टेमा आदिमा अवसर दिन सकिन्छ ।

युवालाई नयाा अवसर
नेपालका त्यस्ता थुप्रै संरचना र क्षेत्र छन्, जहाँ युवालाई सबैभन्दा बढी उपयोग गर्न सकिन्छ । एउटा सोझो, सामान्य र सहज रूपमा लाखौँ युवालाई ‘सोसल मोबिलाइजर’ बनाएर परिचालन गर्न सकिन्छ । निश्चित पारिश्रमिक दिएर
उनीहरूलाई परिचालन गर्ने नीति बनाउन सकिन्छ । प्रत्येक सांसदलाई तीन करोड बाँड्नुको सट्टा सोही रकमले युवालाई राष्ट्रसेवामा लगाउन सकिन्छ । स्वास्थ्य, शिक्षा, जनचेतना, कालोबजार नियन्त्रणका लागि अनुगमनमा पनि
युवालाई परिचालन गर्न सकिन्छ । यस्तो अवसरमा लाखौँ युवा खपत हुन सक्छन् र त्यसले देशलाई सुशासनतिर लैजान सक्छ र रोजगारी बढाउँछ । सही कार्ययोजना बनाउन सकियो भने प्रत्येक जिल्लामा हजारौँ युवायुवतीलाई स्वरोजगार बनाउन पनि सकिन्छ । युवालाई केन्द्रमा नराख्दा देशको समृद्धिको बाटोमा युवालाई केन्द्रित र आकर्षित गराउन सकिएको छैन ।  विकास निर्माणका कार्यक्रममा युवा वञ्चित छन् । योजनामा युवालाई सहभागी
गराउन सकिएको छैन । त्यसो गर्न सकियो भने धेरै युवालाई दिनुपर्ने विज्ञता र दक्षताका विषयमा केन्द्रित हुन पाइन्छ । यसका लागि पुँजीको व्यवस्था गर्नुपर्छ । यसबाट युवामा आत्मविश्वास बढाउन सकिन्छ ।
मास मुभमेन्ट आवश्यक
बेरोजगार युवालाई मास मुभमेन्टमार्फत अभियान चलाउन आवश्यक छ । धेरै युवा बेरोजगार भएको विभिन्न संघसंस्थाले तथ्यांक सार्वजनिक गरिरहेका छन् । उनीहरूले उक्त तथ्यांक सार्वजनिक गरेर के फरक पर्छ ? यसबारे कुनै चासो कसैले दिएको देखिन्न । यद्यपि सरकार र संघसंस्थाले त्यो तथ्यांकको बेवास्ता गरिरहेका छन् । तर, उनीहरू स्वयंले के–के काम गरे त बेराजगार युवाका लागि ? प्रश्न स्वाभाविक रूपमा उठ्छ । अब ती बेरोजगार युवालाई अवसर प्रदान गर्न कसरी आवाज उठाउने र कसरी बढीभन्दा बढी ‘प्रोडक्टटिभ’, दक्ष र सीपयुक्त बनाउने त ? यससम्बन्धी कुनै आवाज उठेको छैन । सरकारले कार्ययोजना पनि बनाएको छैन । अहिलेसम्म सरकारले सानातिना कार्यक्रम मात्रै चलाएको छ, फाटेको लुगा टालेजस्तो ।

युवाकेन्द्रित आयोग र मन्त्रालय
युवाकेन्द्रित कार्यक्रम सञ्चालन गर्न योजना आयोग र युवा मन्त्रालयको अहिलेको संरचनाले सम्भव छैन । अहिलेको अवस्थामा ती निकायले युवालाई आकर्षित गर्न पनि सक्दैनन् । उनीहरूको सोचाइ र योजना परम्परागत मात्रै छ
। उनीहरूको भूमिका परिवर्तन गर्ने हो भने ती निकायमा युवाको भूमिका बुझेको मान्छे चाहिन्छ वा दक्ष र क्षमतावान् नयाँ व्यक्ति आवश्यक हुन्छ ।
यदि राष्ट्र बनाउने र देशका लागि पसिना बगाउने हो भने संरचनागत परिवर्तन आवश्यक छ । अनि प्रक्रियामुखी संरचनालाई परिणाममुखी बनाउन पनि आवश्यक छ । नेपालको कर्मचारीतन्त्र सामन्ती सोचबाट आएको संरचना हो । अहिले पनि यसको सोच सामन्ती नै छ । त्यो संरचनासँग नयाँ भिजन छैन । सोच नै साँघुरो छ । ९० प्रतिशत कर्मचारी चाकडीबाज मात्रै छन् । त्यसले परिणाम कहिल्यै दिँदैन । युवालाई विभिन्न क्षेत्रमा आकर्षित गर्न सकियो भने एकतातिर युवाको विदेश पलायन रोकिनेछ भने अर्कातिर लगानी पनि बढ्नेछ । विदेश र निजी क्षेत्रबाट
लगानी बढाउन लगानीमैत्री वातावरण आवश्यक छ, तर त्यसका लागि आकर्षक र ठूला परियोजना आवश्यक पर्छ । यी क्षेत्रका लागि कार्यक्रम बनाउन सकियो भने कति जनशक्ति खपत गर्न सकिन्छ ? कतिलाई तालिम दिनुपर्छ वा कतिलाई अन्य ज्ञान दिन आवश्यक पर्छ, त्यसको प्रस्ट तस्बिर आउँछ । स्वदेशका युवालाई खपत गराउन सकियो भने स्वत: राष्ट्रियताको भावना अभिवृद्धि हुन्छ । बाहिरबाट कसरी विदेशी लगानी भित्र्याउन सकिन्छ ? कसरी निजी क्षेत्रको लगानी बढाउन र सुरक्षित गराउन सकिन्छ ।
नयाँ सोच
नेताहरूले युवाशक्तिलाई राष्ट्रको विकास निर्माणमा लगाउनुभन्दा कसरी आफ्नो स्वार्थपूर्तिका लागि आफ्नो पार्टीको झन्डा बोक्न लगाइरहेका छन् ? युवा राष्ट्रका सम्पत्ति हुन् र यसलाई राष्ट्र निर्माणमा लगाएर नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने सोच अहिले राजनीतिक दलमा पलाएको छैन । तसर्थ युवा शक्तिलाई नै राष्ट्रको सम्पत्ति र शक्ति मानी युवा शक्तिकेन्द्रित आर्थिक विकास र निर्माणसम्बन्धी कार्ययोजना तयार गर्ने सोच बनाएको छ । युवालाई रोजगार तथा स्वरोजगारका लागि आवश्यक पर्ने ज्ञान सीप र दक्षता
हासिल गर्न दिने हालसम्म राष्ट्रियस्तरको एक उच्चस्तरीय संस्थान वा केन्द्र छैन । विभिन्न विषयमा युवालाई ज्ञान, सीप र दक्षता दिने राष्ट्रियस्तरमा एउटा संरचना तयार गर्न सकिन्छ र प्रत्येक प्रदेशमा एउटा यस्तै संरचना निर्माण गरी युवालाई आवश्यक व्यावहारिक दक्षता दिन आवश्यक छ |

(अमेरिकाको कर्नेल बिश्वबिद्यालय बाट पीएच डी गरेका डा तुलाचन स्वरोजगार र उद्यम सिलाताको क्षेत्रमा संयुक्त राष्ट्र संघ लगायत विभिन्न अन्तरास्ट्रिय संघ संस्थाहरुमा ३० वर्ष बढी काम गरिसकेका छन् उनि राष्ट्रिय उद्यमसिलाता अभियानका संयोजक हुन् )

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें