रविवार, 29 जुलाई 2018

के हो युवाको जिम्मेवारी ?

 जिएन पाण्डे
करिब ७० बर्षको लामो संघर्षपछि देशमा राजनीतिक परिवर्तन भइ संक्रमणकालको अन्त्य भएको छ । लामो समय देखी नेपाली युवाहरू राजनीतिक परिवर्तनको आन्दोलन र राजनीतिक दल स्थापना गर्नमै आफ्नो जवानी खर्च गरे । हिजो राजनीतिक परिवर्तनको आन्दोलनले गर्दा युवाहरूको मुद्दा छाँयामा परेको थियो । अब युवाहरूको काधमा आर्थिक क्रान्ति गरेर मुलुक लाई समृद्ध बनाउने जिम्मेवारी थपिएको छ ।
जसरी हामी राजनीतिक परिवर्तन गर्नमा अग्रपंक्तिमा लागेर हिड्याँै, त्यसरी नै अब राष्ट्रलाई समृद्ध बनाउन पनि युवा अग्रपंक्तिमा लागेर हिड्न जरुरी छ । देशको महत्वपूर्ण र निर्णायक शक्ति भनेकै युवा शक्ति हो, तर आज महत्वपूर्ण शक्तिनै देशमा बढ्दो युवा बेरोजगारीको समस्याले देशमा कुनै सम्भावना देखेन । खाडी र मलेसियामा जानुपरेको अवस्था छ । अब यसको अन्त्य गर्न पनि युवाहरू नै अगाडि आउन जरुरी छ । आज देशको राजनीति गञ्जागोल छ । भुकम्प ,भारतीय नाकाबन्दी र मधेस आन्दोलनले गर्दा देशको अर्थतन्त्र डामाडोल भएको छ । तर, राजनीतिक दलहरु भने समस्या समाधान गर्न दिनप्रतिदिन असफल हुँदै गइरहेका छन । यो रमिता युवाहरुले टुलुटुलु हेर्नू बाहेक विकल्प छैन । उमेरले नेटोकाटेकालाई देशको जिम्मेवारी दिदा आज युवाहरू त्यसको भागिदार भएका छन ।
युवा बेरोजगारी अन्त्य गर्न अब युवाहरूको परिचालन गर्न जरुरी छ । राजनीतिक, सामाजिक ,आर्थिक, सांस्कृतिक सबै क्षेत्रमा युवाहरुले हस्तक्षेप गर्न जरुरी छ । देशमा बढ्दो बेरोजगारीको अन्त्यको लागी युवाहरुलाइ उत्पादनमुखी काममा प्रयोग गर्न जरुरी छ , बिदेशमा बगाउने पसिना अब देशमै बगाउने वातावरण बनाउन जरुरी छ ।
‘सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासको माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्न युवाको भूमिका र तिनीहरूमा रहेको अन्र्तनीहित क्षमतालाई गुणात्मक बनाउन जरुरी छ । राज्यले यसो गर्न सकेको छैन ।
अहिलेका युवा गरिखाने ठाउ को खोजीमा छन् । अहिलेका युवा भनेको त्यस्तो पुस्ता हो, जो साक्षर र शिक्षित छ । कृषिप्रधान मानिने देशका शिक्षित युवा आफ्नो शिक्षा र सीप अनुसार गैर कृषिक्षेत्रमा कामको खोजीमा छन् । बाबुबाजेले गरेको कृषि पेसा गर्नुभन्दा बेरोजगार बस्ने र केही उपाय नलागे खाडी मुलुक जान तयार हुने युवाशक्ति प्रशस्तै देख्न सकिन्छ । राज्यले देशमा विभिन्न रोजगारीका अवसर सिर्जना गरेर युवा शक्तिलाई उपयोग गर्ने नीति बनाउनुपर्छ ।
विकास निर्माणका कार्यलाई सुचारु गरेर युवाशक्ति पलायन हुनबाट रोक्न सक्ने योजना ल्याउनुपर्छ । युवाशक्तिले बगाउने रगत, पसिना विदेशी भूमि होइन आफ्नै जन्मभूमिको माटो सिंचित गर्ने वातावरण बनाउनुपर्छ ।
अब पनि युवावर्गलाई सदुपयोग गर्न सक्ने सही नीति नबनाउने हो भने देशका धेरै युवा विदेशिन बाध्य हुनेछन् । युवा सशक्तीकरणको माध्यमबाट सामथ्र्यवान, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गरी उनीहरूलाई राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा लगाउनुपर्छ । बेलामै युवावर्गलाई देशमै स्थापित गराउन सक्नुपर्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें